बालुवाटारमा ओलीसँग एक घण्टा छलफल, शिक्षामन्त्रीले राजीनामा दिनुको भित्री रहस्य

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नैतिकता देखाउदै पदबाट राजीनामा दिएकी छन् । २० दिनदेखि शैक्षिक हडताल घोषणा गरेर काठमाडौँका सडकमा शिक्षकहरूले आन्दोलन जारी राखेपछि दबाब थेग्न नसकेर शिक्षामन्त्रीले पदबाट राजीनामा दिएकी हुन् । शिक्षामन्त्री भट्टराई शिक्षकका माग सम्बोधन गर्ने पक्षमा थिइन् ।
माग सम्बोधनका लागि उनले कयौँ प्रयास गरिन् । तर, त्यो प्रयास प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सफल भएन । उनले गत माघमा नै शिक्षा ऐन जारी नभए राजीनामा दिने बताएकी थिइन्। त्यतिखेर संसदको हिउँदे अधिवेशन चलिरहेको थियो। विद्यालय शिक्षा विधेयकमा संसदको शिक्षा समितिमा दफावार छलफलको क्रममा थियो। तर, गत चैत १८ गते प्रधानमन्त्री ओलीले संसद्को अधिवेशन नै अन्त्य गरिदिए।
त्यसपछि पनि तत्कालै बर्खे अधिवेशन आह्वान हुने र त्यसबाट विधेयक पारित हुने विश्वासमा उनी थिइन्। आन्दोलनरत शिक्षकहरूलाई ऐन बन्ने बाटो नभए आफूले राजीनामा दिने र शिक्षकहरूसँगै हुनेसमेत बताइरहेकी थिइन्। सरकारले यही वैशाख १२ गते बर्खे अधिवेशन बोलाइसकेको छ। तर, शिक्षा ऐन तत्काल नबन्ने देखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको दिएकी हुन् । शिक्षकमा माग सम्बोधन गर्नको लागि भट्टराईलाई प्रधानमन्त्री ओलीले साथ दिएनन् । ओली शिक्षकका माग सम्बोधन गर्ने पक्षमा देखिदैँनन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली शिक्षकहरूलाई चिढ्याउने र निजी विद्यालयका सञ्चालकलाई मात्र खुसी पार्ने गरी अभिव्यक्ति दिइरहेका छन् । जसले गर्दा प्रधानमन्त्री ओलीका कारण पनि पछिल्लो समय उनी तनावमा थिइन्। तर पनि भट्टराई शिक्षकका मुद्दा छिटो टुङ्ग्याउन लागिपरेकी थिइन्। नयाँ शैक्षिक सत्र प्रभावित नहोस्, एसईईको उत्तरपुस्तिका परीक्षण तत्काल अघि बढोस् र कक्षा १२ को परीक्षा पनि नरोकियोस् भनेर उनी रातदिन खटिरहेकी थिइन्।
तर, उनको चाहनाअनुसार यी कुनै पनि प्रयासमा उनी सफल हुन सकिनन्। बरु उनले शिक्षकका मुद्दामा सम्बोधनका लागि सात बुँदे तयार गरिसकेपछि पनि प्रधानमन्त्री ओली शिक्षक आन्दोलनलाई लिएर फितलो टिप्पणी गर्दै हिँडे। शिक्षकका मागबारे सम्बोधन गर्न भट्टराई बालुवाटार पुगिन् । बालुवाटारमा उनले प्रधानमन्त्रीसँग झन्डै एक घण्टा छलफल गरेको स्रोतको दावी छ ।
उनले ओलीसँग आन्दोलनरत शिक्षकको केही माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखेकी थिइन्। जसमा ओली सहमत भएनन्। शिक्षकका माग सम्बोधन गर्नमा ओली सहमत नभएपछि अन्तिम समयमा भट्टराईले पदबाट राजीनामा दिएर बालुवाटारबाट निस्केकी हुन् ।