रविले सुमनालाई शिक्षामन्त्री बनाइदिए, जेल परेपछि साथ छाडिन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामा रहेका बेला सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा प्रकरणले रास्वपा तरंगित बनेको छ । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरि दिने क्षमता शून्य रहेको भन्दै सुमनाले सहमहामन्त्रीबाट राजीनामा दिएकी हुन् ।
रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक ४ गते पक्राउ परेसँगै सुमना पार्टी विरुद्ध लागेको रास्वपाका नेताहरूको आरोप छ । सुमना अब रास्वपामा लामो समयसम्म नरहन सक्ने नेताहरूको दावी छ ।
रास्वपाका एक नेताले भने,‘ रवि जी पक्राउ परेपछि सुमना पार्टीविरुद्ध उभिएकी हुन् । पहिलो पटक सभापतिलाई पक्राउ गर्दा एक दुई पटक सुमना आन्दोलनमा पनि सहभागि हुनु भयो । तर, उनी रवि जीको न्यायको लागि जानु भएको थिएन । अन्य सबै साथीहरू भएकाले आफ्नो आलोचना हुने डरले जानु भएको हो । भित्रीरुपमा भने उनले फरक बाटो समातेकी थिइन।’
रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि सुमनाको रास्वपामा रहेर काम गर्ने मनोबलमा गिरावट आएको थियो । तर, पनि रविले सफाइ पाएपछि फेरि पार्टीको गति बढ्नसक्ने भएकाले सुमना कात्तिकदेखि अहिलेसम्म पार्टीमा मौन बसिन ।
धरौटीमा छुटेका रवि पार्टीको नेतृत्वमा फर्किएर काम गर्ने तयारी गरिरहेका थिए । तर, चैत २४ गते जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उच्चको आदेश अनुसार रवि कारागार चलान भएका छन् ।
धेरै ठाउँमा मुद्दा भएकाले रवि ०८४ यता जेल मुक्त नहुने र अब पनि रास्वपामा रह्यो भने आफ्नो राजनीतिक भविष्य धरापमा पर्ने सुमनाको निष्कर्ष छ । त्यसैले सुरुमा सहमहामन्त्रीबाट राजीनामा दिएर विस्तारै रास्वपाबाट टाढा हुने उनको तयारी हो । तर, सुमनाको यस निर्णयले रविमाथि झन संकट आएको छ । यसरी नै नेताहरूले साथ छाड्ने हो भने रास्वपा ०८४ को निर्वाचनमा दुई चार सिट पनि जित्न मुस्किल छ ।
रवि थुनाबाट अहिले कानुनी लडाइ लडिरहेका छन् । आफू निर्दोष रहेकोमा दृढता रहको बनाउदैं आएका रवि थुना गएपछि सुमना श्रेष्ठले साथ छाड्नु भने उचित देखिदैन । सुमनामाथि रविले निकै गुन लगाएका छन् । रास्वपामा आउनुभन्दा अगाडि सुमनाको खासै लोकप्रीयता थिएन । उनी राजनीतिमा पनि सर्किए थिइनन् ।
तर, रविले उनलाई ठुलो अवसर दिएर समानुपातिकबाट सांसद बनाइदिए । त्यति मात्र नभइ रविले उनलाई शिक्षा मन्त्री पनि बनाइदिए । तर, यीनै सुमनाले रवि कारागार चलान भएपछि उनको साथ छाडिन् । अहिले रवि अपठ्यारोमा पर्दा साथ छाडेकी सुमनाले आफू यो उचाइमा पुग्नुमा रविको ठुलो योगदान रहेको विर्सनु हुदैन ।
सहमहामन्त्रीबाट राजीनामा दिएकी सुमना अब रास्वपामा धेरै लामो समय नरहने रास्वपाकै नेताहरूले दावी गरेका छन् । यदि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ०८४ मा नयाँ पार्टी खोलेको खण्डमा सुमना बालेनको पार्टीबाट चुनाव लड्ने मनशायमा छिन् ।
तर, बालेनले फेरि काठमाडौँ महानगरपालिकाको मयरमा उठ्ने योजना बनाएपछि भने सुमना कांग्रेस या एमालेमा प्रवेश गरेर चुनाव लड्ने भित्री योजना छ । कांग्रेस एमाले मध्य जसले राम्रो जिम्मेवारी दियो त्यसै पार्टीमा जाने सुमनाको अन्तिम बाटो हो ।