राजनीतिक दलप्रतिको वितृष्णा शान्त पार्न सरकारले पहल गर्नुपर्छ : डा. शेखर कोइराला

नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरूप्रति आमजनतामा बढ्दो वितृष्णा कम गर्न सरकार आफैंले अग्रसरता लिनु पर्ने बताएका छन् ।
जय नेपाल इन्टरनेशनल फाउन्डेसनअन्तर्गत ग्लोबल युथ नेटवर्कद्वारा भर्चुअल रुपमा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता कोइरालाले नेपाली काँग्रेस आफैँ लोकतान्त्रिक पार्टी भए पनि आन्तरिक रूपमा लोकतान्त्रिक मूल्य–मान्यता अनुसार चल्न नसकेको स्वीकार गरेका छन् ।
अधिवेशन समयमै गर्न नसकिएको, भ्रातृ संस्थाहरू वर्षौं अधिवेशनविहीन रहेको, र तदर्थवादमा पार्टी सञ्चालन भएको भन्दै उनले नेतृत्वलाई गम्भीर आत्ममूल्यांकन गर्न आग्रह गरे । डा. कोइरालाले संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण, आर्थिक विकास जस्ता विषयहरूमा वर्तमान सरकारले कुनै ठोस प्रगति गर्न नसकेको टिप्पणी गर्दै राजनीतिक अस्थिरता, भ्रष्टाचार र जनआक्रोशका कारण मुलुक गम्भीर मोडमा पुगेको उल्लेख गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका अन्य नेताहरूले पनि पार्टी र सरकारप्रतिको जनताको निराशा, आन्तरिक बेथिति, भ्रातृ संगठनहरूको निष्क्रियता, र एनआरएन नागरिकता लगायतका विषयमा धारणा राख्दै सुधारको खाँचो औँल्याए । पूर्वमन्त्री अर्जुन नरसिंह केसीले असंगठित अराजकतर्फ देश उन्मुख हुन सक्ने चेतावनी दिँदै काँग्रेसले सुधार गर्दै जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
गैरआवासीय नेपाली संघ (NRNA) का प्रतिनिधिहरूले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी वातावरणको सुधार, र प्रवासी नेपालीका अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव तथा अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले गैर आवासीयहरूका मागलाई एक्बद्द भएर मात्र समाधान गर्न सकिने भएको हुँदा आगामी मे महिनामा हुने महाधिवेशनमा भाग लिन सबैलाई आव्हान गर्दै शुभकामना प्रदान गरेका छन् ।
कार्यक्रममा भाग लिएका नेताहरू र सहभागीहरूले नयाँ वर्षलाई सुधार र संकल्पको वर्ष बनाउने प्रतिवद्धता व्यक्त गर्दै, लोकतन्त्र, आर्थिक विकास र जनआस्था पुनःस्थापनाका लागि काँग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।