दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा नजाने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने संकेत देखाएका छन् । दक्षिण अफ्रिकाले त्यहाँका गोरा (श्वेत) नागरिकको जमिन जफत गर्ने र उनीहरूको जनसंहार गरेको आरोप लगाएका ट्रम्पले जी–२० शिखर सम्मेलनमा नजाने आशय व्यक्त गरेका छन् ।
‘जमिन जफत र जनसंहार नै प्रमुख कुरा भएको अवस्थामा दक्षिण अफ्रिकामा जी–२० जस्तो महत्त्वपूर्ण बैठकमा हामी कसरी जाने ?,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘उनीहरूले गोरा किसानहरूको जमिन खोस्ने, उनीहरू र परिवारका सदस्यलाई मार्ने काम गरिरहेका छन् । मिडिया यसबारे लेख्न मान्दैन । अमेरिकाले दक्षिण अफ्रिकालाई दिने सबै सहयोग रोकेको छ । जी–२० का लागि के म यस्तो ठाउँमा जान चाहन्छु ? मलाई त्यस्तो लाग्दैन,’ ट्रम्पले भनेका छन् ।
ट्रम्पको पोस्टमा दक्षिण अफ्रिका एक नेताले जमिन कब्जा र हत्यालाई ‘क्रान्तिकारी कार्य’ भनेको भिडियो पनि राखेका छन् ।
गोराहरूको एकल जातीय शासनपछि हालको दक्षिण अफ्रिकामा भूमि सुधार एक संवेदनशील मुद्दा बनेको छ । एएफपी समाचार एजेन्सीका अनुसार, ७० प्रतिशतभन्दा बढी व्यापारिक कृषियोग्य जमिन अझै पनि अल्पसंख्यक श्वेतको कब्जामा छ ।