वीरगन्जगमा मध्यराति १२ बजेसम्म थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ ।
यसअघि आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको कर्फ्युको समय बढाएर मध्यराति १२ सम्म लम्ब्याइएको हो । शनिबार हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासनले साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
तर दुई पक्षबीच अझै सहमति हुन नसकेकाले कर्फ्यु आज राति १२ बजेसम्मका लागि लम्ब्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । सहमतिका लागि जिल्ला प्रशासन कार्यालयमा आज बिहान साढे ७ बजेदेखि सर्वपक्षीय बैठक जारी रहेको छ । तर अहिले सम्म सहमति हुन सकेको छैन । हनुमान जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमका क्रममा शनिबार वीरगन्जमा दुवै समूहबीच ढुंगा हानाहान भएको थियो ।
त्यस क्रममा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन् ।
यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ ।