अमेरिका-चीन व्यापार युद्ध, आजदेखि १०४ प्रतिशत कर लागू

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत कर (भन्सार शुल्क) लगाएका छन्।
यससँगै अब चीनबाट अमेरिका आउने सामानमा कूल भन्सार १०४ प्रतिशत पुगेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको हो।
आफ्नो दोस्रो कार्यकालको सुरुमै ट्रम्पले चीनलाई २० प्रतिशत कर लगाए भने यसपछि सम्पूर्ण विश्वमा कर घोषणा गर्दा उनले चीनलाई थप ३४ लगाए।
अब अहिले ५० प्रतिशत थप्दा चीनविरुद्ध कूल भन्सार महसुल १०४ प्रतिशत पुगेको हो। ‘मैले पहिल्यै चेतावनी दिएको थिएँ कि अमेरिकाविरुद्ध बदला लिने कुनै पनि देशले सुरुको भन्दा धेरै उच्च करको सामना गर्नुपर्नेछ’, चेतावनीयुक्त भाषामा ट्रम्पले भनेका थिए ।
ट्रम्पले अतिरिक्त कर लगाउने चेतावनी दिएपनि चीन आफ्नो अडान कायमै छ। चीनले भनेको छ, ‘अमेरिकाले थप कर बढाएर गल्तीमाथि गल्ती गरिरहेको छ। यो धम्की उसको ब्ल्याकमेलिङ प्रवृत्तिको प्रमाण हो। हामी यो स्वीकार गर्दैनौँ।’ अमेरिकाले जिद्दी गरिरह्यो भने त्यसविरुद्ध अन्त्यसम्म लड्ने चीनले भनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र द पिपल्स डेलीका अनुसार व्यापार युद्ध भए पनि चीन लड्न पूर्ण तयार छ झन् बलियो भएर निस्कनेछ । ‘अमेरिकी करको असर परेपनि आकाश खस्दैन’, द पिपल्स डेलीले लेखेको छ ।