पहिलो अन्तर्राष्ट्रिय दौड सम्मेलन नेपालमा आयोजना हुँदै

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको छ। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को सहकार्यमा जेठ २३ गते शुक्रबार काठमाडौँमा कन्फ्रेन्स आयोजना गर्न लागिएको हो ।
नेपालगन्ज म्याराथनका संस्थापक तथा नेपालका लागि एम्स दूत टीएस ठकुरीका अनुसार, यो सम्मेलनमार्फत नेपालमा एशियाली रनिङ समुदायलाई एकत्रित गर्न, अनुभव आदानप्रदान गर्न, नयाँ सीप सिक्न तथा खेलकुद विकासको लागि सहयाेग पुग्नेछ । ठकुरीले नेपालमा रनिङ खेलको परम्परागत अभ्यासलाई आधुनिक प्रविधि र व्यवस्थापनमा रूपान्तरण गर्दै समग्र नेपाली खेलकुदको उन्नतिमा टेवा पुर्याउने अपेक्षा गरिएको बताएका छन्।
नेपालमा दौड खेलको विकासका लागि पनि यो कस्फ्रेन्सको महत्वपुर्ण मानिएको छ । विस्वस्तरीय म्याराथन खेलाडीहरु सँगको अनुुभव तथा सिप आदानप्रदानले खेलकुद प्रवर्दनमा पनि टेवा पुग्ने विश्वास लिइएको छ । दक्षिण एसियामा पहिलो पटक नेपालले यसप्रकारको कम्फ्रन्स गर्ने अग्रसरता लिएको हो । थाइल्याण्डमा प्रत्येक वर्ष आयोजना हुने एशिया रोड रेस फोरम, भियतनाम, सिंगापुर, इन्डोनेसियामा हुने मास पार्टीसिपेसन वर्ल्ड (एमपिडब्ल्यु) जस्ता कार्यक्रमहरू भने हुँदै आएका थिए ।
रेस नेपाल र नेपालगन्ज म्याराथनको संयुक्त आयोजना रहने कन्फ्रेन्स एम्सको बोर्ड बैठकको अवसर पारेर प्रारम्भ गर्न लागिएको छ। नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्स विकासमा क्रियाशील व्यक्तित्व तथा शिक्षा, खेलकुद, पर्यटन, सामाजिक र आर्थिक क्षेत्रका अगुवाहरूलाई समेटेर मुख्य आयोजक समिति गठन गरिनेछ।
कन्फ्रेन्समा चारवटा मुख्य सत्र रहनेछन्। पहिलो सत्रमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग विशेष साक्षात्कार गरिनेछ। अन्य दुई सत्र ‘खेलकुद र पर्यटनः आर्थिक तथा सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौडः स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै’ विषयमा केन्द्रित रहनेछन्। प्रत्येक सत्रमा दुई विदेशी तथा दुई नेपाली वक्ता रहनेछन् भने सहजकर्तासमेत रहनेछन्।
नेपालमा आयोजना हुन लागेको यो सम्मेलनमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली मुलुकहरूका प्रतिनिधिहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार, वक्ता र सहजकर्ताका नाम चाँडै टुंगो लगाइनेछ।