शुक्रबारबाट प्रर्दशनमा आउने नेपाली चलचित्र ‘डोरी’को टिकट बुकिङ सुरु

नेपाली कथानक चलचित्र डोरीको अग्रिम टिकट बुकिङ्ग खुला गरिएको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको हो भने अन्य केही हलहरूले पनि बुकिङ खुला गरेका छन् । चलचित्रले देशभर १२० शो प्राप्त गर्ने वितरक रोहित कट्टेलले बताएका छन् । उनका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो सङ्ख्या यकिन हुने बताए।
अलि भिन्न र फरक स्वादको चलचित्र ‘डोरी’को ट्रेलर केही दिन अगाडि सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । संसारमा सबै मानिस कुनै न कुनै प्रकारको डोरीबाट बाँधिएका छन् । कोही प्रेमको डोरी, कोही अभावको डोरी, कोही स्वार्थको डोरी अनि कोही डर र त्रास डोरीले, यस्तै बाँधिएको डोरीबाट कसरी मुक्त हुने भन्ने परिवेशमा चलचित्रको कथा घुमेको निर्माण टिमले बताएको छ ।
ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू पनि समेटिएका छन् । निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी जसरी प्रयोग स्वादिलो बनाएको बताएका छन् । चलचित्रमा सामाजिक परिवेश, पात्रले आफ्नो लक्ष्य प्राप्तिका लागि गरेको संर्घष, रिस, डाहा, इश्र्या, प्रेम र अभावले सृजना गरेको दुखलाई माला जसरी बुनिएको निर्देशक लामाले बताएका छन्।
त्यसै गरी, ‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । बुधवार साँझ चलचित्र डोरीको सेन्सर गरिएको हो । अब यो चलचित्र १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।
चलचित्र डोरीको लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । साथै उनको चलचित्रमा समेत प्रमुख भूमिका छ । त्यस्तै इेतिहासिक रेकर्ड राख्न सफल चलचित्र पूर्णबहादुरको सारङ्गीकी नायिका अञ्जना बराइली पनि यस चलचित्रमा प्रमुख भूमिकामा छिन् । चलचित्रमा राज पौडेल, प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको पनि प्रमुख भूमिका रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो, फोटोग्राफी निर्देशक ९म्इए० सौरभ लामा, मुख्य सहायक छायांकन ईश्वर सिन्केमान, सहायक छायांकन हिमाल श्रेष्ठ रहेका छन् ।