पूर्वराजाको स्वागत र्यालीमा योगी आदित्यनाथको फोटो बोक्ने राणा भागेर पुगे गोरखपुर

काठमाडौँ । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेका छन् ।
उनले भारतीय सञ्चारमाध्यम ‘नवभारत टाइम्स’सँग कुरा गर्दै आफूलाई नेपाल प्रहरीले खोजी गरिरहेको बताएका छन् । आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएकै कारण भारतमा शरण लिनुपरेको उनको भनाइ छ ।
५८ वर्षीय राणा मंगलबार नेपालबाट भागेर उत्तर प्रदेशको गोरखपुर आइपुगेको नवभारत टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।
राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’
आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन् । उनले भनेका छन्, ‘यस क्रममा मैले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ । मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हो । धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु ।’