पूर्वराजाको काठमाडौँमा इन्ट्री, ओली उपत्यका छोडेर भागेको आरोप, राजतन्त्रको जित भएको हो ?

काठमाडौँ । ‘केपी चोर देश छोड’ भन्दै राजतन्त्र पक्षधरहरुले काठमाडौँ उपत्यका हल्लाएका छन् । आफूविरुद्ध ‘देश छोड’को नारा लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली भने काठमाडौँमा छैनन ।
२०८१ फागुन २५ गते अर्थात आज काठमाडौँ उपत्यकामा २०६२/६३ को झल्को देखिएको छ । २०६२/६३ मा ‘ज्ञाने चोर देश छोड’को नारा लागेको थियो भने आज ठिक उल्टो केपी चोर देश छोडको नारा लागेको छ । १८ वर्ष पछि नेपालमा पूनः राजतन्त्र आउनसक्ने चर्चा हुन थालेको छ ।
लामो समय पोखरा बसेका शाहलाई पञ्चेबाजा बजाएर बिदाई गरिएको थियो । समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरेका थिए । माला लगाएर पोखराबाट उडेका पूर्व राजा शाह ४ बजेर ४५ मिनेटमा त्रिभूवन विमानस्थलमा ओर्लिए । पोखराबाट समिट एयरको चार्टर्ड जहाजमा आएका थिए ।
त्रिभूवन विमानस्थलदेखि निर्मल निवाससम्म पूर्वराजा शाहलाई हजारौँ समर्थकले भव्य स्वागत गरे । सायद २०६२/६३ पछि राजाको पक्षमा काठमाडौँका सडकमा यति धेरै जनता उत्रिएका पहिलो पटक होलान् । आफ्नो पक्षमा यति धेरै जनता उत्रिएपछि शाहको अनुहारमा चमक देखिन्थ्यो ।
त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आफ्नो निवासका लागि निस्केका शाह आधा जीउ निकालेर समर्थकहरूमाझ हात हल्लाएर गएका थिए ।
काठमाडौँका सडकमा उत्रिएका हजारौँ सर्थकले शाहलाई आजै नारायणहिटी गएर राजगद्दीमा बस्न अनुरोध गरे । तर, शाहले आज सुभ साइत नभएको र सुभ साइत हेर्ने बताउदैँ निर्मल निवास गए । तर, अरु दिन शाहलाई गिज्याउदैँ भाषण ठोक्ने प्रधानमन्त्री ओली पूर्व राजा आएकै दिन काठमाडौँ उपत्यका बाहिर गए ।
उनी एक कार्यक्रममा लागि भन्दै सूदुरपरिश्चम पुगेका छन् । प्रधानमन्त्री ओली मात्र नभई गृहमन्त्री रमेश लेखक समेत काठमाडौँको सडकमा १ हजार४ सय ४६ प्रहरी तैनाथ गरेर उतै गएका छन् । यता राजाको समर्थकहरुले हाम्रो राजा आउँदा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले उपत्यका छाडेर भागेको आरोप लगाउन समेत भ्याए ।
हुन पनि आज उपत्यकामा यतिसम्मको नाराबाजी हुँदा प्रधानमन्त्री र गृहमन्त्रीले उपत्यका बाहिर नजानु थियो । किन की जुनसुकै समयमा जे पनि हुन सक्छ । तर, प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले उपत्यका छाड्नु आफै रहस्यम देखिन्छ । ओलीले आजै उपत्यका बाहिर गएपछि राजाबादीहरु आफूहरुको जित भएको भन्दै निकै हौसिएका छन् ।