च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दैछन्।
खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो २:४५ बजे सुरू हुनेछ। यहाँ दुवै टोली दोस्रो पटक आमनेसामने हुनेछन्। पछिल्लो खेलमा टिम इन्डियाले ४४ रनले जित हासिल गरेको थियो।
भारतले यहाँ अहिलेसम्म एउटा पनि एकदिवसीय खेल हारेको छैन। टोलीले १० खेल खेलेकोमा नौ खेल आफ्नो पक्षमा पार्दा एउटा खेल बराबरी भएको थियो।
हालसम्म दुई टोलीबीच ११९ एकदिवसीय खेल खेलिएका छन्। यसमा भारतले ६१ खेल जितेको छ भने न्युजिल्याण्डले ५० खेल जितेको छ। यसबाहेक ७ खेलमा नतिजा आएको छैन। जबकि एउटा खेल बराबरीमा सकिएको छ।
भारतले न्युजिल्याण्ड विरुद्धको पछिल्ला ६ एकदिवसीय खेल लगातार जितेको छ। यी दुई टोली अन्तिम पटक यस च्याम्पियन्स ट्रफीमा आमनेसामने भएका थिए, जब भारतले ४४ रनले जितेको थियो।