‘कालो छाया’

भूतलाई छोडेर अघि बढ्दै छु।
आजलाई समाउँदै भोलि बनाउँदै छु,
म यँही छु, जुन छु, जे छु, यही छु,
तिमीले रचिएको बाटोमा छैन, म आफैंमा नयाँ छु।
भूतका ती यादहरू अब बोक्दिनँ,
दुःखका छायाँहरू मनमा रोक्दिनँ।
किन सम्झूँ तिमीलाई, किन रोकूँ पाइला,
म त उज्यालो खोज्दै अघि बढ्न चाहन्छु।
हुन सक्छ तिमीलाई जलन ,
म हाँस्दा, खुशी हुँदा, उज्यालिँदा।
तर दोष तिमीलाई दिन खोजेको होइन,
बस, तिम्रो हर्कतलाई दर्शाउन खोजेको।
आज खुसी छु, आजलाई अंगाल्दै,
भोलिको प्रतीक्षा गर्दै, आशा जगाउँदै।
यो खुसी भोलि पुग्दा आज हुनेछ,
र त्यो दिनको भोलि मेरो नयाँ आज हुनेछ।
लाचार भूतलाई अब मात्र हेर्नेछु, चिन्नेछु,
तर तिमीले छोडेको भन्दा अब्बल बन्नेछु।
भूतलाई हाँसो, खुशीको बाणले जित्नेछु,
किनकि तिमी मेरो भूत हौ, मेरो विगत हौ।
मेरो भूत लाई म आफै वर्तमानमा मार्नेछु ।
अब बिर्सिएर पनि वर्तमानलाई बिगार्ने हिस्सा नबन,
म तिमीलाई वास्तवमै चाहन्न।
म अहिलेको म हुँ, भोलि अझ राम्रो हुनेछु,
मलाई यस्तै रहन देऊ है !
भूतलाई बिर्सेर वर्तमान सजाउने छु।
आजलाई समाउँदै भोलि बनाउने छु ।
– राेहित खड्का