मलद्वारमा राखेको सुन भन्सारका कर्मचारीले नदेख्नुको कारण के हो ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पासपछि टर्मिनल गेटबाट प्रहरीले करिब ४ केजी सुन बरामद गरेपछि फेरि प्रश्न उठेको छ ।
बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका चारजना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको मलद्वारमा डल्लो पारेर राखेको ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।
उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए। सशस्त्र प्रहरी बल र कर्मचारीलाई भन्सार चेकजाँचको जिम्मा दिइएको छ। तर, यति ठूलो परिणाममा बरामद सुनले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरवाहीलाई पुन एकपटक पुष्टि गरेको छ।
२०८० को साउनमा ठूलो परिणाममा सुन समातिएपछि विमानस्थलका कर्मचारीहरूतिर पनि औंला उठ्यो । त्यत्रो परिमाणको सुन तस्करी हुनुमा विमानस्थल र भन्सार कर्मचारीको मिलेमतो त छैन रु भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने नै भयो । आफूमाथि प्रश्न उठेपछि कर्मचारीहरूले आन्दोलन गरे । आफूहरू हतोत्साहित भएको बयानबाजी गरे । त्यतिबेला यात्रुलाई हदैसम्म दु:ख दिने काम भयो ।
तर, अहिलेसम्म त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुने कार्य रोकिएको छैन । विमानस्थलका कर्मचारीहरूको लापरबाहीले तस्करहरुले खुलेआम सुन तस्करी गरिरहेका छन् । विमानस्थलबाट प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा पटक पटक सुन तस्करी हुँदै आएको बाहिर आइसकेको छ।
गत २१ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले साढे ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी र भन्सारका कर्मचारीकै मिलेमतोमा दुई वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको थियो।