बहादुर इन्स्पेक्टर प्रेम सम्बन्धका कारण अस्ताइन्

काठमाडौँ । सन्तोषी महत बहादुर र मिहिनेती थिइन् । तर, प्रेम सम्बन्धका कारण सन्तोषीले आत्महत्या गरेको खबरले सबै अचम्ममा परेका छन् ।
केही महिना अगाडिमात्रै सन्तोषी सिन्धुपाल्चोकबाट इन्स्पेक्टरमा नाम निकाल्ने पहिलो महिला बनेकी थिइन् । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकको ९ औं नम्बरमा नाम निकालेर बेसिक तालिम गर्न ३ महिना अघि मात्रै पोखरा पुगेकी सन्तोषी महतले गत शनिबार शौचालयको बिममा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ लागर्चे घर भएकी महतले सशस्त्रमा जवानदेखि जागिर खाएकी थिइन् । त्यसपछि उनको कडा मिहिनेतले असई हुदैँ इन्स्पेक्टरमा समेत नाम निकाल्न सफल भइन ।
तर, इन्स्पेक्टरको फुली लगाउन नपाउदैँ उनी सधैका लागि अस्ताइन् । इन्स्पेक्टरमा नाम निकाल्न उनले निकै दुख कष्ट भोग्नु परेको थियो । उनले राम्रोसँग सुतेको रात थिएन । जतिबेला पनि उनको हातमा लोकसेवाको किताब हुन्थ्यो ।
पटक पटक नाम निकाल्न असफल सन्तोषीले फेरि २०८० मा आवेदन दिइन् । र, नाम निकाल्न सफल भइन् । आवेदन दिदाँ सन्तोषीले दिदी सविनालाई भनेकी थिइन्, ‘यो पटक दिन्छु नाम निस्किएन भने जिन्दगीभर किताब छुँदिन म पनि अरूले जस्तै आफ्नो जीवन बाँच्छु । साथीभाइसँग घुम्छु रमाउँछु । ८ वर्ष भयो मलाई मेरो सपनाले कैदी बनाएको ८ वर्ष कैदी बनाएर राखेको सबै रहरहरू पूरा गर्छु।’
सन्तोषीले ६ महिनाको कडा मिहिनेतपछि लोकसेवाको परीक्षा दिएर विभिन्न चरण पार गर्दै खुल्लाबाट ९ नम्बरमा नाम निकालेकी थिइन् । घरमा उनको सफलताले उत्सव छाएको थियो । तर, सफल भएको केही समयमा नै उनले संसार त्याग गरेर गइन् । उनले आत्महत्या गर्नुको कारण हो प्रेम सम्बन्ध ।
पारिवारिक स्रोतका अनुसार प्रेम सम्बन्धको कारणले उनले आत्महत्या गरेकी हुन् । उनी एक प्रहरी निरीक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेम सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका छ । महतलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले सशस्त्रकै अर्का इन्स्पेक्टरलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार राति सशस्त्र प्रहरी बलका इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरेको डिएसपी बसन्त शर्माले जानकारी दिए।
जोशी तनहुँस्थित ३ नम्बर गणमा कार्यरत थिए। सन्तोषीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको भन्दै परिवारले किटानी जाहेरी दिएका थिए। त्यसको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।