Trending

आज काठमाडौंका यी ठाउँमा सवारी निषेध

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपत क्षेत्रमा भक्तजनहरुको भिड बढेकाले त्यस क्षेत्रमा सवारी निषेध गरिएको छ ।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई सञ्चालनमा रोक लगाइएको छ ।

दर्शनार्थीहरूकै भिडभाडका कारण तिलगंगा, चावहिल, मित्रपार्क, पुरानोबानेश्वर र रातोपुलमा सवारी साधन केही क्युमा चलिरहेका छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधन लिएर दर्शन गर्न मन्दिर जाने दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

बनकाली, भन्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङको व्यवस्था मिलाइएको हो । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने दर्शनार्थीको सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

त्यस्तै दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरुको लागि बनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ । त्यसैगरी पशुपती क्षेत्र विकाश कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।

तोकिएको स्थानमा मात्रै सवारी साधन पार्किङ गरि ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्बन्धित सबैमा ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

TOP