Trending

बानाको नयाँ कार्यसमिति निर्वाचन : १४ पदका लागि ३० जनाले उम्मेदवारी दर्ता

अमेरिकामा रहेको बाल्टिमोर एसोसिएसन अफ नेपलीज (बाना) को नयाँ कार्यसमितिका १४ पदका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार बानाको बाल्टिमोरस्थित मुख्यालयमा उम्मेदवारी दर्ता गरिएकाे हाे । बानाको निर्वाचन अप्रिल ६ मा हुनेछ। बानामा यसपटक पाँच हजारभन्दा बढी सदस्य रहेका छन्।

निर्वाचन कमिटीका प्रमुख डा. कृष्ण ढकालका अनुसार, बानाको भावी अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा बानाका सल्लाहकार जितेन गुरुङ, वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, आजीवन सदस्य कोशिस भण्डारी र पूर्व वरिष्ठ उपाध्यक्ष हिरालाल गुरुङ समावेश छन्। आइतबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने म्याद तोकिएको थियो। 

अध्यक्ष पदका लागि सबैभन्दा पहिले जितेन गुरुङले उम्मेदवारी दर्ता गरेका थिए। लक्ष्मी भारती हलमा पहिले पुगेकी थिइन् तर उम्मेदवारी दर्ता जितेन पछि मात्र गरिन्। त्यसपछि कोशिस भण्डारी र हिरालाल गुरुङले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरे। यसपटक अध्यक्ष पदमा जितेन गुरुङ बाहेक अन्य तीन जना स‌स्थापन इतरका हुन्। हिरालाल गुरुङ अघिल्लो निर्वाचनमा सुबोध विलास पन्तसँग पराजित भएका थिए भने लक्ष्मी भारती हिराको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हारेकी थिइन्। कोशिस भण्डारीले हिरालाई समर्थन गरेका थिए।

जितेन गुरुङले अघिल्लो निर्वाचनमा सुबोध विलास पन्तलाई समर्थन गरेका थिए र त्यसको फलस्वरूप उनी सल्लाहकारमा मनोनीत भएका थिए। जितेनले एक वर्षअघिदेखि नै अध्यक्ष पदका लागि तयारी गरिरहेका छन्। संस्थापन पक्षले यसपटक कसलाई समर्थन गर्ने भन्ने औपचारिक घोषणा गरेको छैन तर लक्ष्मी र हिरा मध्ये कसैलाई समर्थन गर्ने बताइएको छ। आइतबार उम्मेदवारी दर्ता गर्दा हिरालाल गुरुङ एक्लै देखिएका थिए भने अन्य तीन जनाले आफ्नो टिमसहित उम्मेदवारी दर्ता गरेका थिए।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव पदका उम्मेदवारहरू:
वरिष्ठ उपाध्यक्ष पदका लागि जनक बहादुर थापा (जितेन प्यानल), सागर घिमिरे (लक्ष्मी प्यानल) र डा. एकता कोइराला (कोशिस प्यानल) ले उम्मेदवारी दिएका छन्। उपाध्यक्ष पदमा बज्रेस् महर्जनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका छन् भने गणेश भट्टराई र प्रेम कमलीले कोशिस प्यानलबाट उम्मेदवारी दिएका छन्। महासचिव पदका लागि सलिन बस्नेत (जितेन प्यानल), दमन विक्रम शाह (लक्ष्मी प्यानल) र तारा खरेल न्यौपाने (कोशिस प्यानल) ले उम्मेदवारी दिएका छन्।

सचिव र कोषाध्यक्ष पदका उम्मेदवारहरू:
सचिव पदका लागि वसन्त बस्नेत, सुशील खत्री र जनक पुन मगरले उम्मेदवारी दिएका छन्। कोषाध्यक्ष पदमा सञ्जु डंगोल, राजेन्द्र बहादुर रेग्मी र करुणा खड्काले उम्मेदवारी दिएका छन्।

बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवारहरू:
बोर्ड अफ डाइरेक्टरको आठ पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारहरूमा सोनीका चुनरा, लक्ष्मी राम शाह, राजु सुवेदी, भुपेश जङ्ग शाह, हृदय केसी, डम्बर बहादुर बस्नेत, नीमाया प्रधान, अर्जुन क्षेत्री, प्रवीण लामा, कृष्ण के बिस्ट र राजीव क्षेत्री समावेश छन्।

TOP