हरिओम श्रेष्ठको हृदयघातका कारण निधन

काठमाडौं। प्रशिक्षक तथा पूर्वखेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ५४ वर्षीय श्रेष्ठको आइतबार उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठ पछिल्लो समय ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मा आबद्द थिए। उनको प्रशिक्षणमा एनआरटीले बुढा सुब्बा गोल्डकप जितेको थियो।
प्रतियोगिताकै दौरान मुटुमा समस्या आएपछि उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित गंगालाल अस्पताल ल्याइएको थियो। स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको थियो।
तर शनिबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पताल लगिएको थियो। जहाँ उपचारका क्रममा उनको निधन भएको एन्फाले जनाएको छ।