पाथीभरामा तनाव चर्किदैँ

काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने कि नबनाउने विषयमा उत्पन्न तवाव चर्किदैँ गएको छ । विवाद साम्य पार्न सरकार र ‘नो केबलकार’ पक्षबीच भएको वार्ता र सहमति निष्कर्षमा नपुग्दा त्यहाँ फेरि झडप भएको छ ।
बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन् । ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रबार राति १२ बजेदेखि यातायात बन्दको घोषणा गरेका हुन् ।
उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान–वसन्तपुर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन् ।
यातायात व्यवसायीहरूले ‘नो केबलकार’ पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पु¥याएको र चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरेकोमा विरोध जनाउँदै यातायात नै बन्द गर्ने घोषणा गरेका हो ।
घाइते चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत तथा अन्य यातायात मजदुरहरूको जीवन सुरक्षाको प्रत्याभूति गर्न यातायात व्यवसायीले माग गरेका छन् ।
ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार झडप हुँदा १३ जना घाइते भएका थिए । पाथीभरा क्षेत्रको डडेले भन्ने ठाउँमा क्षमा पूजा सकेर फर्किने क्रममा नो केबलकार समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
झडपमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरी ६ जना र आन्दोलनकारीतर्फ एकजना घाइते भएका थिए । आन्दोलनकारीले सशस्त्र र नेपाल प्रहरीको सुरक्षा सामग्रीमा समेत क्षति पु¥याएका छन् ।