प्रकृति लम्सालले न्याय पाउनै पर्छ

काठमाडौँ । नेपाली विद्यार्थीहरुलाई लखेटेर दम्भ देखाएको भारतले फेरि एक पटक हेपाहा प्रवृति देखाएको छ । घटना हो- बुटवलकी प्रकृति लम्सालको संकास्पद मृत्यु प्रकरण । भारतको ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल एकाएक मृत अवस्थामा फेला परिन् ।
तर, कलेजले लम्सालले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेर घटना लुकाउन खोजिरहेको छ । कलेजले आत्महत्या गरेको भनेपछि नेपाली विद्यार्थीहरु आन्दोलनमा उत्रिए । घटनाको छानबिन गर्नुको साटो आन्दोलनमा उत्रिएका नेपालीहरुलाई उल्टै कलेजबाट निकालेर खुबै ठुलो दम्भ देखाइयो ।
उक्त कलेजले नेपाली विद्यार्थीलाई राम्ररी सामान प्याक गर्न पनि नदिइकन जबरजस्ति बसमा हालेर रेल्वे स्टेसनमा छोडिदिएको छ । कलेजका शिक्षिकाहरुले नेपाली विद्यार्थीहरुलाई धम्क्याएको भिडिओ पनि सार्वजनिक भएको छ । एक विद्यार्थीले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरु बिचल्लीमा रहेको बताए ।
उनले भनेका छन्, ‘हामीले रातिदेखि केही खाएका छैनौं । साथमा पैसा पनि छैन । ट्रेन कति बेला आउँछ थाहा छैन । हामी अलपत्र परेका छौ ।’
भिडिओमा सारी लगाएका दुई शिक्षिकाले नेपाली छात्रालाई तुरुन्त सामान प्याक गर्न भन्दै थर्काएको देखिन्छ । एक शिक्षिका भन्छिन्, ‘तिमीहरु आफैंले आफूलाई यस्तो गरेको हो । हामी तिमीहरुलाई रातिदेखि नै सम्झाइरहेका छौं, स्थानीय प्रशासनले टेकओभर गर्नेछ ।’
अर्की शिक्षिका आएर थप्छिन्, ‘तुरुन्तै सामान प्याक गरेर निस्किहाल । यहाँ प्रहरी आउँदैछ ।’
एक नेपाली छात्राले प्रश्न गर्छिन्, ‘हाम्रो गल्ती के हो ?’
शिक्षिका बम्किन्छिन्, ‘हामीलाई थाहा छैन तिमीहरुको गल्ती के हो । हामी यत्ति भन्छौं, तिमीहरुले हामीलाई यो निर्णय लिन बाध्य बनायौं । अब तिमीहरु कोही यहाँ सुरक्षित छैनौं । जहाँ सुरक्षित छौ, त्यही जाऊ ।’
भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शन, राजनीतिक दल एक ठाउँमा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ ।
लम्सालले न्याय पाउनुपर्छ भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । विद्यार्थीहरु आन्दोलनमा उत्रिदा नेपालका राजनीतिक दल पनि एक ठाउँमा उभिएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको बताएका छन् ।
‘मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
त्यस्तै रास्वपा लगायत अन्य दलका नेताहरु पनि यस घटनाको विषयमा आवाज उठाइरहेका छन् । यता सामाजिक सञ्जालमा भने भारतको चर्को विरोध हुनुका साथै सबैले प्रकृति लम्सालले न्याय पाउनु पर्ने माग गरिरहेका छन् ।
घटना संकास्पद
लम्सालले कलेजमा पढ्ने एक युवकले आफूलाई लामो समयदेखि दुर्व्यवहार गर्दै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध अफिसर (आईआरओ) लाई निवेदन पनि दिएकी थिइन् । तर, प्रशासनले गम्भीरतापूर्वक लिएको थिएन । एकाएक उनी मृत फेला पर्नुबाटै घटना संकास्पद रहेको अनुमान गरिएको छ ।