ओली भ्रष्टाचारीको पक्षमा उभिएपछि काग्रेस-एमालेका सांसदले टेबल ठोके

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन आवश्यक नभएको भन्दै बचाउ गरे । आइतबार बसेको संसद बैठकमा भ्रष्टाचारीलाई मृत्यु दण्ड दिनुपर्छ भन्ने आवाज उठ्यो ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ । के तपाई यस्तो कानुन बनाउन राजी हुनुहुन्छ ? भन्दै प्रश्न गरे । तर, ओलीलाई उक्त प्रश्न खासै मन परेन । ओलीले मुस्कुराउदै कानुनले गरेको फैसला कहिलेकाहिँ कमजोरी पनि हुन सक्ने भन्दै मृत्युदण्ड नै समस्याको समाधान नहुने बताए ।
उनले यसो भन्दा एमाले र कांग्रेसका सांसदहरुले टेबल ठोकेका थिए । ‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो । कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । र, फैसला उपयुक्त नहुनपनि सक्छ, ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’
त्यसकारण ज्यान लिने भन्दा पनि मानवतावाद कानुनसम्मत समाज शासन व्यवस्थामा जोड दिनुपर्ने बताएका छन् । यसरी संसदमा ओली भ्रष्टाचारीको पक्षमा उभिदा एमाले र कांग्रेसका संसदले समर्थन गरे भने विपक्षी दलका सांसदहरु भने आक्रोशित देखिएका थिए ।