Trending

महानगरपालिकाहरूको कार्यसम्पादन मूल्यांकन : भरतपुर उत्कृष्ट, काठमाडौं दोस्रो

काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनमा चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ५ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । 

यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष  २०८२/०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।

आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।  

समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।

अर्यालका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौँ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ७६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा ईच्छाकामना गाँउपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७० दशमलव १ प्रतिशत, माडी नगरपालिकाले ६९ दशमलव १ प्रतिशत, खैरहनी नगरपालिकाले ६६ दशमलव ८ प्रतिशत, कालिका नगरपालिकाले ६४ दशमलव ३ प्रतिशत र राप्तीले ४३ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फछ्र्योट लगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको दाबी गरिन् ।   

TOP