किन मनाइन्छ भ्यालेन्टाइन्स डे ?

काठमाडौं । आज १४ फेब्रअरी अर्थात भ्यालेन्टाइन्स डे । हरेक वर्ष १४ फेब्रुअरीकै दिन विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउने गरेका छ ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।
तेस्रो सताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे( ‘जब बिहे गरिन्छ, पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ, त्यसैले आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोधमात्र गरेनन्, सन्त भ्यालेन्टाइनले सायौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।
भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।
यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एकअर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मनपरेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।