Trending

युवापुस्ताले जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने बुझ्न आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र संघर्षका सन्दर्भमा आज जारी गरेको शुभकामना सन्देशमा उनले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताएका छन् ।

सशस्त्र संघर्षका कारण आज मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले शासन सत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको उल्लेख गरेका छन् ।

‘हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौं । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलो पटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौं । राज्यको पुनर्संरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो । यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौं । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौं । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौं’, उनले शुभकामना सन्देशमा भनेका छन् । अध्यक्ष दाहालले सशस्त्र संघर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

TOP