Trending

हामीहरुबाट गल्ती भयो, अब सच्चिन्छौँः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुबाट गल्ति भएको र त्यसलाई सच्चाउने धारणा व्यक्त गरेका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरेका छन्। उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौँ। म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

यस्तै, उनले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताए ।

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए । त्यस्तै, उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको बताएका छन् ।

TOP