सामाजिक सञ्जाल नियमन विधेयकमा के छ ?

सावधान, अब तपाईले सामाजिक सञ्जालबाट कसैलाई गालि गलौच गर्ने, ट्रोल बनाउने, भ्रमपुर्ण अधिव्यक्ति दिने गर्नुभयो भने जरिवाना र जेलमा पर्नुहुने छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मार्फत् त्यस्तो व्यवस्था गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको छ। विधेयकमा सामाजिक सञ्जाल प्रयोग गर्दा कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा ‘हेट स्पीच’ मानिने कार्य गर्न पाउने छैनन्। कुनै व्यक्ति, समूह वा समुदायविरूद्ध हिंसा वा घृणा फैलाउने वा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका विषयवस्तु सामाजिक सञ्जालमा पोष्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, रिपोष्ट, ट्याग, ह्यासट्याग, मेन्सनजस्ता कार्यलाई विधेयकले ‘हेट स्पीच’ का रूपमा परिभाषित गरेको छ। सामाजिक सञ्जालमा कसैले राष्ट्रहित प्रतिकूल हुने कार्य गरेमा त्यस्तो व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु पाँच लाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा राखिएको छ।
त्यस्तै, सामाजिक सञ्जालमा मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार नगर्ने विषय पनि विधेयकमा परेको छ। यस्तै, प्रचलित कानुनले निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने एवं अन्धविश्वास फैलाउने र जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याउने विषयवस्तु प्रसार गर्न नहुने उल्लेख छ। गर्न नहुने भनी तोकिएका यी कार्य कुनै प्रयोगकर्ताले गरेमा रु पाँच लाखसम्म जरिवाना गर्नसक्ने प्रावधान पनि विधेयकमा राखिएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेको भन्दै सरकारले विधेयक संसद्मा लगेको मन्त्रालयले जनाएको छ। सूचना प्रविधि क्षेत्रमा भएको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेकाले यसको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेका कारण विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ।