Trending

प्रधानमन्त्री ओलीले प्रचण्डलाई कटाक्ष गर्दै भने – सरकार ढल्छ तर ०८४ मा

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गर्दैै कसैको सरकार ढल्छ भन्ने मनोकामना पुरा नहुने बताएका छन् । माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अब २०८४ को मंसिरमा ढल्ने बताएका हुन् । ‘अहिले ढल्छ, साँझसम्म ढल्छ भन्ने छन् । साँझ ढलेन राति ढल्छ, राति ढलेन भोलि बिहानै ढल्छ । भोलिपल्ट पनि ढलेन । पर्सि ढल्छ । पर्सिपल्ट पनि ढलेन, यो हप्ता ढल्छ । यो महिना ढल्छ, भदौमा ढल्छ । दशैंमा ढल्छ, तर ढलेन । अब मंसिरमा पक्का ढल्छ, त्यसमा ढलेन’, ओलीले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोक्यै छन् तर, यो सरकार २०८४ मंसिरको निर्वाचनपछि मात्रै ढल्छ । मान्छेहरूले अस्ति गएको मंसिरमा ढल्छ भनेर बुझेछन् ।’

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन् । उनले केही गरौँ भन्ने युवाहरुलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पारेका छन् । उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश जारी भएका थिए ।
एमाले संददीय दलका नेता प्रधानमन्त्री ओलीले सदनमा तथ्य र तर्कका आधारमा संयमित र जिम्मेवाररुपमा प्रस्तुत हुन तथा प्रभावकारी उपस्थिति जनाउन सांसदहरुलाई आग्रह गर्दै अरुले गलत आरोप र भ्रम छरेमा रचनात्मक र सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

TOP