भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परि ४ नेपालीको मृत्यु

भारतको महाराष्ट्रमा रेल दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ नेपाली यात्रुको पनि ज्यान गएको छ । घटनाको मुख्य कारण पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला रहेको बताइएको छ। परधाडे रेलवे स्टेशनमा उक्त हल्ला फैलिएपछि आतङ्कित यात्रुहरू रेलबाट हामफाल्न थाले। यसैबीच, अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसले थुप्रै यात्रुलाई किचेको जनाइएको छ।
पुष्पक एक्सप्रेस लखनउबाट मुम्बईतर्फ जाँदै थियो भने कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको भारतीय संचार माध्यमले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार, पुष्पक एक्सप्रेसको ब्रेक लगाउँदा पांग्राबाट धुवाँ निस्किएपछि आगलागीको हल्ला फैलिएको थियो, जसले यात्रीहरूलाई हतास बनाएको हो ।