अमेरिकामा बन्द भयो टिकटक, कारण के हो ?

अमेरिकामा शनिबार रातिदेखि औपचारिक रूपमा चिनियाँ कम्पनी टिकटक बन्द भएको छ । राष्ट्रपति जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताउँदै अमेरिकामा टिकटकलाई जारी राख्न नसकिने बताएकाे हाे ।
यससँगै जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको थियो । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो। टिकटकले यस कानुनविरूद्ध सर्वोच्च अदालत पुगेको थियो र यो अमेरिकामा आफ्ना लाखौँ प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो। सर्वोच्च अदालतको निर्णयको अर्थ टिकटकको अमेरिकी संस्करणलाई एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ।

प्रयोगकर्ताहरुले टिकटक खोल्ने प्रयास गर्दा उनीहरुले एक सन्देश पाएका थिए । जसमा लेखिएको थियो, ‘माफ गर्नुहोला, टिकटक अहिले उपलब्ध छैन । टिकटकलाई प्रतिबन्ध गर्ने कानुन अमेरिकामा लागु भएको छ । दुर्भाग्यवश, यसको अर्थ तपाईंले टिकटक प्रयोग गर्न सक्नुहुँदैन ।’

यता, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् । डोनाल्ड ट्रम्पले एनबीसी न्यूजलाई यस विषयमा सोमबार पदभार ग्रहण गरेपछि घोषणा गरिने बताएका हुन्।

TOP