बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भोलि (मंगलबार) बयानका लागि काठमाडौं ल्याइने भएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई मंगलबार जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।
अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी सम्बन्धमा अनुसन्धान गर्न कात्तिक २७ मा भैरहवा पुर्याइएको थियो । बयान सकेर उनलाई पोखरा फिर्ता पठाउने तयारी थियो । तयारी अनुसार प्रहरीले लामिछानेलाई ७४ वटा प्रश्न गरेको थियो । लामिछाने अरू कसैले चेक काटिदिएको हुन सक्ने भनेर जवाफ दिदै आएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको खातामा लामिछानेले रकम जम्मा गरिदिएको विषयमा पनि प्रश्न सोध्ने प्रहरीको तयारी छ । उनीसँग हालसम्म पोखरा र रूपन्देहीमा मात्रै बयान लिइएको छ । अन्य सहकारी ठगीमा सम्बन्धित जिल्लामा लामिछानेलाई लगेर बयान गराउने प्रहरीको तयारी छ । कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि मसिर ९ गते फेरी १५ दिनको म्याद थप गरिएको छ ।