ट्रम्पको गैरकानुनी कदमले अमेरिकामा रहेका नेपालीहरुको भागाभाग हुने
राष्ट्रपति ट्रम्पकाे याे अधिनायकवादी र गैरकानुनी कदमले अब अमेरिकामा रहेका नेपालीहरुकाे भागाभाग हुने देखिएकाे छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडनले भित्राएका कागजातविहीन आप्रवासीलाई फिर्ता पठाउने बताएका छन् । साथै उनले आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्न सेना प्रयोग गर्ने घोषणा समेत गरेका छन्। सीमा सुरक्षामा राष्ट्रिय आपत्काल घोषणा गर्दै उनले मेक्सिकोसँगको सीमा व्यवस्थित बनाउने योजना सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति जो बाइडनको प्रशासनकालमा गैर कानुनी आप्रवासीको संख्यामा वृद्धि भएको उल्लेख गर्दै ट्रम्पले लाखौँ आप्रवासीलाई देश निकाला गर्ने आफ्नो निर्णयलाई दृढताका साथ अघि बढाउने बताएका छन्। ट्रम्पको नेतृत्वमा काम गरेका मिलि र भूतपूर्व चिफ अफ स्टाफ तथा सेवानिवृत्त जर्नेल जोन केली लगायतका कतिपय पूर्ववरिष्ठ सैन्य अधिकारीहरू पछिल्लो समय उनको अधिनायकवादी आवेगहरूविरुद्ध उभिने गरेका छन् । सेना प्रमुखबाट हुनसक्ने सैन्य शक्तिको सम्भावित दुरुपयोगबाट जोगाउन पेन्टागनले केही गर्न सक्ने अवस्था छैन । रक्षा मन्त्रालयका वकिलहरूले आदेशको वैधताबारे सैन्य नेताहरूलाई सिफारिस गर्न सक्छन् । तर ट्रम्पलाई अमेरिकी सडकहरूमा अमेरिकी सैनिकहरू तैनाथ गर्नबाट रोक्न सक्ने कुनै वास्तविक कानुनी व्यवस्था भने छैन ।
अमेरिकी सडकहरूमा सक्रिय–कर्तव्य सेना पठाउने निर्णयलाई हल्का रूपमा लिन नसकिने अधिकारीहरु बताउँछन् । ट्रम्प प्रशासनले सीमा क्षेत्रमा हजारौं सेना खटाइएको खण्डमा त्यसले विदेशी खतराहरूसँग लड्न सेनाको गर्ने तयारीमा असर पुग्न सक्ने अर्का एक अधिकारीले सीएनएनसँग बताएका छन् ।
उनले जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा आफ्ना समर्थकहरूलाई भनेका थिए, “मैले लाखौँ अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ।”
अमेरिकामा हाल करिब १ करोड १० लाख मानिस गैर कानुनी रूपमा बसिरहेका छन्। अधिकारीहरूको अनुमान अनुसार ट्रम्पको निर्वासन योजनाले करिब २ करोड परिवारमा प्रत्यक्ष प्रभाव पार्नेछ।
मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि अमेरिकी सरकारले दशकौँदेखि संघर्ष गरिरहेको छ। ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा गैर कानुनी आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको आरोप लगाएका थिए।