हार्मोनियमबाट नेपाललाई विश्वमाझ चिनाएका विमल
भनिन्छ, मिहेनतले मान्छेलाई महान बनाउँछ । कुनै पनि काम प्रतिको लगाव अनि निरन्तरताले व्यक्तिलाई एकदिन सफलताको हकदार बनाउँछ । त्यसको उदाहरण हुन्, सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी विमल शाह । जसले हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएका छन् । नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समय देखी काम गर्दै आएका उनी वल्र्ड बुक अफ रेक्डर्स, लन्डनद्धारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका हुन् । हार्मोनियममा वर्ल्ड बुक अफ रेकड बनाएपछि शाहको जताततै चर्चा चलिरहेको छ । यति बेला उनलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको ओइरो लागेको छ । साहलाई विभिन्न व्यक्ति तथा ठाउँहरुमा सम्मान गर्न निम्तयाउने गरेको भए पनि उनी सँग भने अहिले समय अभाव रहेको उनी बताउँछन् । उनी भन्छन् – ‘मेरो जन्मथलो जाने प्रवल इच्छा भएपनि समय अभावले जान सकेको छैन।’ गाउँवासीले बोलाएपनि आफु समय अभावले जान नपाएको र छिटै समय मिलाएर गाउँ जाने उनले बताए ।
वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेपछि उनको नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई समेत दिइसकेका छन । हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएपछि उनी भन्छन्, कुनै पनि काम गर्दा ध्यान दिएर, धैर्यता र विश्वासका साथ गर्नुपर्छ ।
हार्मोनियमबाटै चर्चित विमलको सफलताकोे यात्रा
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित विमल शाह २०६२ सालमा एसएलसी सकाएर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । आर आर क्याम्पसमा पढ्दै गर्दा असन स्थित हरेराम रुपनारायण भिनाजुको हार्मोनियम पसलमा काम गर्थे । भिनाजुको पसलमा हार्मोनियमको ट्यूनिंग गर्न नाम चलेका संगीतकार, गायक, गायिका आउँदा उनलाई अनौठो लाग्थ्यो । उनी आफैलाई प्रश्न गर्थे हार्मोनियमप्रति किन यति गहिरो लगाव । त्यसपछि उनलाई हार्मोनियम विश्वले चिन्नुपर्छ । त्यसपछि उनी स्पेशल कोर्स गर्न कलकत्ता गए । नेपाल फर्किएपछि अन्तत आफ्नै छुट्टै पसल खोले । हार्मोनियम सफा गर्ने, पेच कस्ने कामबाट करिअर सुरु गरेका उनी हाल हार्मोनियममा डिजिटल ट्युनिङ गर्छन् । हार्मोनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने कामसमेत गर्दै आएका छन् उनले । त्यसैले विमललाई हार्मोनियमको डक्टर भनेर पनि चिनिन्छ । विमलले उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु नेपाल आउँदा हारमोनीको ट्युनिङ गर्नुका साथै प्रसिद्ध भोजपुरी गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका गायक गायिकालाई हार्मोनी ट्युनिङ गरेको सुनाए ।
त्यस्तै, उनले नेपालका प्रसिद्ध गायक–गायिका तथा संगीतकार शम्भुजीत बासकोटा, दीप श्रेष्ठ, कुन्ति मोक्तान, टिका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल, संगीत प्रशिक्षणका लागि नेपालमै सर्वाधिक ख्याति भएका चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्ले लगायतका संगीत गुरुहरुलाई हार्मोनी ट्युनिङ गरेर खुसी पार्न सफल भएको बताउँछन् ।
हुनत् मानिसलाई सफलता हासिल गर्न एउटै विषयमा दक्ष भए पुग्छ । उनी यसैको एउटा ज्वलन्त उदाहरण बन्न पुगेका छन् । हार्मोनियमका मर्मतकर्ताको रुपमा चिनिएका विमलले नयाँ तथा पुराना बाजाको बिक्रीसमेत गर्दै आएका छन् । उनले सिनामंगलस्थित ताराहल चोकमा ‘श्री पशुपतिनाथ हार्मोनियम मर्मत तथा बिक्री केन्द्र’ सञ्चालन गदै आएका छन् ।
२०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हार्मोनियम बिक्रि तथा मर्मत पसल खोलेका विमलसँग हाल हार्मोनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । उनको ३ वटा त हार्मोनियमको गोदाम छ । जसमा सबै प्रकारका हार्मोनियम त्यो पनि आफ्नै नामको ब्रान्डबाट विक्री हुन्छ । उनले अहिले आफ्नै नामबाट हार्मोनियम ब्रान्ड बनाएका छन् । विमल हार्मोनियमको अलाव उनले विमल तबला, विमल गितार र विमल मादल गरेर ४ ओटा ब्रान्ड दर्ता गरेर राखेका छन् । भविष्यमा यसको व्यवसाय गर्ने उनको योजना छ ।
विमल शाह आजको समयमा युवा पुस्ताको लागि एक प्रेरणाको स्रोत बनेका छन् । उनको संघर्ष लगाव र इमानदारीताले गर्दा आज यो स्थानमा पुगेका हुन् । उनले देखाएको साहस र परिश्रमले सांगीतिक क्षेत्रमा नयाँ ढंगले सोच्न प्रेरणा दिएको छ ।