सगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ। सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-४ खुमबालामा लडेर घाइते भएका जापानी नागरिक ५८ वर्षीय मिट्सुगु सिसिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका सिसिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए। खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए।
पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका सिसिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डीएसपी घिमिरेले बताए।
सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्कने पर्यटकहरुको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताए।