Trending

नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी

दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसप अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा दुवै देशले मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

सन् २०१० मा बङ्गलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । यसअघि पटक पटक फाइनलसम्म पुगे पनि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य बनेको थियो । नेपालले साफ महिला च्याम्पियनसिपमा चार पटक भारतसँग तथा एक पटक बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।

यसपटक भने घरेलु मैदानमा अघिल्लो संस्करणमा बङ्गलादेशसँगको हारको बदला लिन चाहन्छ । नेपाल र बङ्गलादेश दुवै अपराजित रहँदै साफको फाइनल पुगेका हुन् । नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेका हुन् ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको थियो । यस्तै बङ्गलादेशले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

TOP