(कविता) ! Have a safe journey !

बिहानै ढोकाको दाँया र बाँया साईडमा
कलशले साईत पार्नु
एक चम्चा दहीको अमिलोसँगै
बिर्सिनु सबैसँगका अमिलो सम्बन्धहरु
र हाँसेर बिदा लिनु

हिड्नुपूर्व हेर्नु आमाको चाउरिएको अनुहार
अब यो चाउरिएको अनुहारको प्राण बोकेर जादैँछौ
जो तिमीसँगै बाचेर फर्किनेछ
हेर्नु बाको काँधनेरै उध्रिएको कमिज
यसले तिमीलाई OT गर्न सघाँउने छ
पेटभरि हेर्नु खेलेर हुर्किएको आँगन र घर
अब कति वसन्त देख्न नपाउने हो
यसले चै खै तिम्लाई पर्खिन्छ या पर्खिदैन

जाँदा बरपिपल दाहिने पारेर जानु
भगवान सधैँ दाहिने रहलान्
देउरालीमा चढाउनु पाती र दुबो
कुरेका सम्बन्धहरु ताजै रहलान्

कसैलाई गए है भन्न बाँकी छ की
कसैलाई हात हल्लाउन बाँकी छ की
बाटोमा भेट्ने जति सबैसँग मुस्कुराउनु
यही मुस्कानको सहाराले काट्नुछ कति अनिदा रातहरु
सिँगो गाउँको आशिर्बाद बोकेर जानु
बाटोसम्म पछ्याउदै भुक्ने डल्लीलाई पनि नताक्नु लात्ती,
अब तिम्रो घरको सहारा उहि त बन्ला
बरु सुम्सुम्याउनु हात फोहोर नहुने गरि
र पढ्नु उसको आँखाको भाका
ईमान्दारीताका हिसाब नमिल्दा काम आउला

जाउ अब अबेर नगरि
फर्किदा बा ,आमा र घरको परदेशमा भएको
अलिकति भाग्य बोकेर फर्कनु
अलिकति छरछिमेकमा पनि बाँड्नु
थोरै change होलाउ परदेशको माटोमा
Its ok,no problem
आमाको आँखाको भाका पढ्न सक्ने हुनु
बाबाको पसिनाको गन्ध सुँघ्न सक्ने हुनु
डल्लीलाई ज्याकी नभन्नु
राधालाई डार्लिङ नभन्नु
कुनै कुरा मौलिक नै सुहाउँछ

जाँदा खोलाको पानी छोएर जानु
खोलाले पनि कुर्ला
अब भन्न बाँकी के रह्यो र ..?
ए साच्ची तिम्रो २ वर्षे भतिजोलाई सम्झाउनु
३/४ बर्ष तिमी नआउने कुरा
कुनै साँझ नकुरोस् तिम्रो बाटो

जाउ अब,
कुल्चेर नहिड्नु
बाटोमा खसेका फूलहरु
फर्कदा तिनैले हरर वासना छर्दै
स्वागत गर्लान्
एयरपोर्टमा पुगेर एक थान फोटो खिच्नु
अलिकति रहरले,अलिकति करले
भोली बेवारिसे हुँदा
त्यही फोटोले देस चिनाउला
नहेर्नु प्लेनको झ्यालबाट बाहिर
देस टाढिदै गएको महसुस होला
र झर्ला आँसु
साईतको वेला,रोएको राम्रो होईन
भन्दा पनि नरो भन्ने कोही हुने छैन
ल त कान्छा ,
नमरी बाँचे कालैले साँचे
भेट होला आम्दो साल
कान्छा,
……..Have a safe journey…..
-पुस्पा के सी
घोराही ,दाङ

TOP