झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा
पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका-९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ ।
पहिरो पन्छाएर झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ । झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । उनका अनुसार झ्याप्ले खोलाको पहिरो हटाएर त्यहाँबाट दुईतर्फ सवारी सञ्चानल गरिएको छ ।
झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो ।
झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।