Trending
युएस खबर संवाददाताराष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने युएस खबर संवाददातासवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड युएस खबर संवाददातासुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध युएस खबर संवाददाता२ मोटरसाइकल आपसमा ठोक्किँदा २४ वर्षीय युवकको मृत्यु युएस खबर संवाददातादुई सातापछि खुल्यो बीपी राजमार्ग : कतै एकतर्फी, कहिं दुईतर्फी युएस खबर संवाददाताहुथी लडाकुहरूले अमेरिकी जहाजलाई बनाए निशाना युएस खबर संवाददाताअमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो युएस खबर संवाददातावर्षमा एकपटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि लाइन

न्यूयोर्कमा बिथोलिएको प्रधानमन्त्री ओलीको कार्यक्रमले दिएको सन्देश

दीर्घराज उपाध्याय  । न्यूयोर्कबाट ।
अधिकारको परिभाषाले भन्छ, तिमीलाई हात हल्लाउने अधिकार छ, तर तिम्रो हातले कसैको नाक छुने अधिकार छैन ।
आफूसंग असहमत हुनेहरुको बिचारको सम्मान र रक्षा गर्ने सोच कही जीवित छ भने बुझ्नु कि त्यहाँ लोकतन्त्र छ । 
अधिकार र लोकतन्त्रको पर्याय मानिन्छ, अमेरिका । र, त्यही अमेरिकाको एउटा कार्यक्रमको उठान गर्दैछु, यी दुईटा उक्तिसंगै । 

लोकतन्त्रमा मात्र आवधिक निर्बाचन मार्फत सरकार चुनिन्छ । चुनावमा प्रतिस्पर्धा गर्नेहरुको एजेण्डा नागरिकको अधिकार, स्वतन्त्रता र सर्बोपरी विकासलाई कुण्ठित गर्ने हुदैन । झट्ट हेर्दा उनीहरु चुनावमा दुश्मन जस्तै देखिन्छन । अरुलाई खुईल्याउन कुनै कसर बाँकी राख्दैनन । तर अरुलाई निमिट्यान्न गर्ने कुरा गर्दैनन । बरु आफ्नै प्रतिस्पर्धीलाई कहीकतैबाट आक्रमण वा खतरा भयो भने, उसको सुरक्षा र रक्षाका लागि संगै उभिन्छन् । जस्तो कि राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण हुदा अर्का राष्ट्रपतिका उम्मेदवार र बर्तमान राष्ट्रपति जो बाईडेनले मौनता साँधेनन । हर्ष बढाई गरेनन । न त खुच्चिङ भने । बरु उनले तत्काल ट्रम्पमाथि आक्रमणको निन्दा गरे । टेलिफोनमार्फत ट्रम्पलाई ढाडस दिए, र भरोसा दिलाए, तपाई एक्लो हुनुहुन्न । म तपाईको साथमा छु । यही हो लोकतन्त्रको सुन्दरता । जहाँ प्रतिपक्षी र प्रतिस्पर्धीको रक्षा र सुरक्षा सत्तापक्षले गर्छ ।

अव बिलम्ब नगरी मूल प्रसंगमा लाग्छु । नेपाली समुदायले २२ सेप्टेम्बर साँझ ५ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणासंग तय गरेको बृहत कार्यक्रम बिथोलियो । बिथोल्ने अरु कोही नभएर नेपालीहरु नै थिए । कार्यक्रम बिथोल्नुका पछाडि राष्ट्रियताको मुद्दा थिएन । न त देशको अस्तित्व वा अस्मिताको विषय थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजिएको बिरोधमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणालाई कालो झण्डा देखाउने हल्ला फैलाईयो । 

प्रवासमा नेपालीका पीडा अनगिन्ति छन् । अमेरिकामा पनि नेपाली समुदायका तमाम समस्या छन् । ती सबैको समस्या समाधान गर्न पहल गर्न सक्ने र त्यसका लागि जिम्मेवार पहिलो व्यक्ति प्रधानमन्त्री हुन् । र, दोस्रो परराष्ट्र मन्त्री ।

संयोगले दुबै जना युएनको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका बेला उहाँहरुसंग आफ्ना कुरा राख्ने अवसर नेपाली समुदायले पाउदै थियो । र, उहाँहरुको सहमतीमा बृहत कार्यक्रम त्यसैका लागि आयोजना गरिएको थियो । तर प्रधानमन्त्रीलाई जुत्ता प्रहार गरिएको र परराष्ट्र मन्त्रीलाई कालो झण्डा देखाईएको अफवाह मात्र फैलाईएन । दुबै जनालाई कार्यक्रमस्थलमा कालो झण्डा देखाउने हल्ला फैलाईयो । र, त्यसको तयारी भएको पनि अमेरिकी सुरक्षा एजेन्सीसम्म पु¥याईयो । जसका कारण प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रीले नेपाली समुदायसंग बृहत अन्तरक्रियाको कार्यक्रम अन्तिम समयमा स्थगित गर्न आयोजक पक्ष बाध्य भयो ।

महावाणिज्यदूतावासले बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा युएनका साईड ईभेण्टमा व्यस्त भएकोले कार्यक्रम स्थगन गरिएको भनिएपनि त्यसको अन्तर्य के थियो, जगजाहेर छ । 

जुन कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न राज्यबाट नेपाली समुदायका अगुवाहरु न्यूयोर्क आईपुगेका थिए, कार्यक्रम स्थगित हुदा उनीहरु निराश भए ।

प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणासंग तय गरिएको संवाद कार्यक्रम स्थगित हुदा कसलाई लाभ भयो ? कसलाई हानी भयो ? र, त्यसले के सन्देश दियो ? कार्यक्रम स्थगित हुनुमा हर्ष बढाई गर्ने कि दुःख मनाउने ? 

नेपाल र नेपालीका समस्या सम्बोधनका लागि कालो झण्डा देखाउने कि संवाद गर्ने ? त्यसका लागि कुन बाटो रोज्ने ? बिबेकसम्मत ढंगले सोच्नु पर्ने थियो । केही मान्छे र पक्षको बिबेक र संयमता गुमाउदा एउटा महत्वपूर्ण अवसर नेपाली समुदायले गुमाए । प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको हार भयो वा प्रवासमा नेपाली समुदायको शीर निहुरियो ? यो प्रकरणसंग जोडिएका सबै पक्षले ढिलोचाँडो आत्मसमीक्षा पक्कै गर्ने छन । 

बिगतमा युएनको महासभामा सहभागी हुन आउदा मन्त्री र प्रधानमन्त्रीलाई घुम्न, डिनर र लञ्च भ्याई नभ्याई हुन्थ्यो । मुख्य कार्यक्रममा भन्दा पनि महासभा उनीहरुका लागि सयल र शयरको अवसर जस्तो प्रतित हुन्थ्यो । देशको मुद्दामा भन्दा पनि आत्मकेन्द्रीत स्वार्थमा प्रधानमन्त्री र मन्त्रीले अमेरिकामा समय व्यतित गर्थे । तर यस पटक प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणाले मूल कार्यक्रममा ध्यान दिएको पाईएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । भलै, उहाँहरुको त्यो व्यस्तताले मुलुकलाई कति लाभ दिने हो, त्यो भविश्यले बताउला ।

देशलाई समृद्ध कसरी बनाउने ? कसरी जलवायु परिवर्तनको समस्यालाई न्यूनिकरण गर्ने ? लगानी बृद्धि, शान्ति र सुरक्षा, डिजिटल असमानता, अन्तरपुस्ता र समावेशी विकास र लैंगिक समानतामा नेपालको तर्फबाट प्रतिबद्धता भए कि भएन ? गरीवी निवारण र देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन युएनको यो महाकुम्भलाई सदुपयोग गरियो कि गरिएन ? त्यसका लागि प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउनु पथ्र्यो । चासो र चिन्ता गर्नुपर्ने विषय एउटा थियो । तर अमेरिकामा रहेका नेपालीहरु अल्झिए अर्कै मुद्दामा । यो दुःखद र दुर्भाग्य कुुरा हो ।

कुनै पार्टीबाट निर्बाचित भएपनि प्रधानमन्त्री सबैका अभिभावक हुन् । परराष्ट्र मन्त्री र सरकारका अन्य मन्त्री पनि साझा व्यक्ति हुन् । देशभित्र र प्रवासमा रहेका हरेक नागरिकका अभिभावक हुन्, प्रधानमन्त्री । उनलाई कुनै पार्टीको चश्माबाट हेर्नु गलत हो । 

आफ्ना अभिभावक र सरकार प्रमुखसंग गुनासा र असहमती राख्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसंग आफ्ना असहमती शालिनढंगले राख्न पाउने दुर्लभ अवसर बिरोध गर्नेहरुसंगै बिभिन्न राज्यबाट आएका नेपालीहरुले गुमाए । 

यदि बृहत कार्यक्रम बिथोल्न अनावश्यक हल्ला फैलाउनेहरुको उद्देश्य केही मान्छेलाई असफल बनाउनु थियो भने त्यसलाई उनीहरुको सबैभन्दा ठूलो भ्रम बाहेक केही मान्न सकिदैन । आयोजक र नेपाली समुदायका अगुवाहरुले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई होटलमै गएर भेटिसके । भेटिरहेकै छन् । ज्ञापन पत्र बुझाएका समाचारहरु पनि सार्वजनिक भईरहेकै छन् । आफ्नो देशको प्रधानमन्त्री र परराष्ट्रलाई प्रवासमा भेट्न र आफ्ना गुनासा र समस्या राख्ने आम नेपाली समुदायले जुन अवसर पाईरहेका थिए, त्यो अवसरबाट उनीहरुलाई बञ्चित गर्न सफल हुनेहरुलाई अलिकति पनि लज्जाबोध भयो भएन कि ? 

कालोझण्डाको डरले प्रधानमन्त्री र परराष्ट्र मन्त्री यदि कार्यक्रममा आउन डराएका हुन् भने त्यो डरबाट लोकतन्त्रको रक्षा कसरी हुन सक्ला ? 

अमेरिकाको सुख, सुबिधा, स्वतन्त्रता र अधिकार प्रयोग गर्दै आएका नेपालीहरुले लोकतन्त्र र अधिकारको परिभाषा बुझ्दैनन भन्नु अन्यथा हुन्छ । उनीहरुले अमेरिकाको आबधिक निर्बाचनमा भाग लिएका छन् । निर्बाचनका क्रममा उम्मेदवारहरुबीच हुने प्रतिस्पर्धा हेरेका छन् । र, राष्ट्र र राष्ट्रियताको जव कुरा आउछ, तव ‘देश पहिले’ भन्ने अमेरिकीहरुको सामूहिक भावना पक्कै बुझेका छन् । उनीहरुले प्रवासमा नेपालीहरु नेपाल पहिले भन्न के बिर्सिएका हुन त ? 

यो कार्यक्रम बिथोलेर उनीहरु बहादुर कहलिए कि कहलिएनन ? यो उनीहरुले आत्म समीक्षा गरुन । बृहत कार्यक्रम बिथोल्नुलाई लोकतन्त्र र नागरिक अधिकारको परिभाषामा किमार्थ समेट्न भने सकिदैन । आफ्नो देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्रीमाथि आफ्ना कुरा निर्धक्कसंग राख्न पाउने नागरिकको अधिकार यो घट्नाले कुण्ठित गरेको छ । फेरि यस्तो कार्य कही कतै, कसैबाट नहोस । चेतना भया ।

TOP