अमेरिकाबाट झुक्काएर १० लाख डलर लिएर फरार पङ्कज १५ वर्ष पछि कानुनको फन्दामा
१० लाख डलर चिट्ठामा परेका एक व्यक्तिलाई झुक्काएर आफूले उक्त रकम भ्वाम पारेमा पङ्कज जोशी १५ वर्ष पछि दोषी प्रमाणित भएका छन् । ड्यालस फोर्टवर्थमा रहँदा अर्काको नाममा परेको १० लाख डलर चिट्टा साटेर नेपाल फरार भएका पङ्कज जोशी १५ वर्षपछि दोषी प्रमाणित भएका हुन् ।
सन् २००९ मा एक अमेरिकी अश्वेतले किनेको चिट्ठामा १० लाख परेपछि जोशीले झुकाएर उक्त आफूले लिएका थिए । उनले उक्त रकम नेपाल पठाएर आफु भने विभिन्न देशमा लुक्दै आएका थिए ।
अमेरिकाले इन्टरपोल मार्फत उनको खोजी भइरहेको थियो । पछिल्लो समयमा उनी नेपाल पुगेका थिए । इन्टरपोलले नेपाल सरकारलाई समेत कारबाहीका लागि पत्र लेखेपछि विशेष अदालतले जोशीलाई दोषी ठहर गर्दै दुई करोड ६ लाख रुपैंया जरिवाना हुने फैसला गरेको छ । अदालतले उनको खातामा रहेको रकम जफत हुने फैसला समेत गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जोशीलाई उक्त फैसला गरेको हो । जोशीले चेज बैङ्कबाट नेपालको बैङ्क अफ काठमाडौँमा रकम भित्र्याएका थिए । त्यस लगत्तै विभिन्न चरणमा रकम पठाएपछि उनी नेपाल गएका थिए ।
चिट्टा परेका व्यक्ति ६७ वर्षीय विलिस विलिसले स्टोरका क्लर्कले झुकाएर नपरेको भन्दै रकम लिएको उजुरी गरेका थिए । त्यसपछि अनुसन्धान अघि बढेको हो । ग्राण्डपेरीमा रहेको लकी फुड स्टोर नामक स्टोरमा जोशी काम गर्थे । त्यही स्टोरबाट विलिसले मेगामिलियन चिट्टा किनेका थिए । किर्ते गरेर अर्काले जितेको चिट्टा हात पारेर नेपाल भाग्ने जोशी सो घटना हुँदा २५ वर्षका थिए । उनी युटी अर्लिङ्गटनमा अध्ययनका लागि आएका थिए ।
अपराधबाट आर्जित रकम नेपालमा लिएर भागेपछि अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले नेपालमा पत्र पठाएको थियो । त्यसपछि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा हालेको थियो । आधाभन्दा बढी पैसा खातामा समेत प्रहरीले फेला पार्न नसकेको बुझिएकाे छ । नेपालको प्रहरीले अनुसन्धान सुरु गर्नुअघि नै उनले पैसा निकालेर केही ठाउँमा जग्गा किनेको प्रहरीको अनुमान छ।
अमेरिकी राजदूतावासले पङ्कजका बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र राष्ट्र बैङ्कलाई लिखित पत्राचार समेत गरेको थियो । प्रहरीले जोशीको खोजी गर्न उनको डिल्लीबजारस्थित घर, आवतजावत गर्ने सम्भावित स्थानमा समेत निगरानी बढाएको थियो। विशेष अदालतले जोशीलाई दोषी ठहर गर्दै दुई करोड ६ लाख रुपैंया जरिवाना र नेपालस्थित बैङ्क खाताहरू रोक्का हुने फैसला गरेको छ । त्यस्तै जोशी विरुद्ध अमेरिकामा समेत मुद्दा रहेको छ ।