ट्रम्पलाई लागेको मुद्दाकाे सजाय राष्ट्रपतिको चुनावपछि सुनाइने
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लागेको हश मनीको मुद्दामा हुने सजाय नोभेम्बरको राष्ट्रपति चुनावपछि मात्रै हुने भएको छ। न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजायको मिति नोभेम्बर २६ सम्म सारेका हुन्।
यसअघि ट्रम्पको सजायको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो। तर, ट्रम्पका वकिलहरूले चुनावमा असर पर्ने भन्दै सजायको मिति सार्न माग गरेका थिए। अदालतले उनीहरूको मागलाई मान्यता दिएको हो।
ट्रम्प हाल रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुन्। मे महिनामा न्युयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अन्य अपराध गरेकोमा दोषी ठहर गरेको थियो। अमेरिकाको इतिहासमा पहिलो पटक कुनै पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको थियो।
न्यायाधीशले यो निर्णय गर्दा अमेरिकी चुनावमा यसको असर नपरोस् भन्ने कुरामा ध्यान दिएका छन्।