प्रेमीले पेट्रोल खन्याएर आगो लगाउँदा ओलम्पिक खेलाडी रेबेका चेप्टेगीको मृत्यु
पेरिस ओलम्पिक २०२४ मा भाग लिएर फर्किएको केही दिनमै ३३ वर्षीय म्याराथन धावक रेबेका चेप्टेगीको आगो लगाएर हत्या गरिएको छ। पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएकी चेप्टेगीको बिहीबार निधन भएको छ। केन्याको उत्तर पश्चिम क्षेत्रमा बसोबास गर्दै आएकी रेबेका आइतबार आक्रमणमा परेकी थिइन्। आक्रमणपछि उनको शरिरको अधिकांश भाग जलेको थियो।
उनी त्यहीँ प्रशिक्षण लिने गर्थिन्। उनी आफ्ना दुई छोरीसँग चर्चबाट घर फर्किएको समयमा उनीमाथि आक्रमण भएको अधिकारीको भनाइ छ। एक स्थानीय प्रशासकको रिपोर्टमा ओलम्पियन र उनका पूर्वप्रमीले झगडा गरेको उल्लेख छ। यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केन्यामा महिला खेलाडीमाथि बढ्दो हिंसाका घटनालाई लिएर चिन्ता व्यक्त गरिएको छ। अक्टोबर २०२१ यता केन्यामा मारिने चेप्टेगी तेस्रो खेलाडी हुन्। उनको उपचार गरिएको अस्पतालबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनका बुबा जोसेफ चेप्टेगीले केन्या सरकारलाई न्याय सुनिश्चित गर्न आग्रह गरे।
एल्डोरेटको मोई टिचिङ एण्ड रेफरल अस्पतालका प्रमुख डा ओवेन मेनाचले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उनका सबै अंगले काम गर्न छाडेपछि उनको मृत्यु भएको बताए।
चेप्टेगीको पूर्व प्रेमीलाई पनि अस्पतालमा भर्ना गरिएको छ। तर उनको अवस्था गम्भीर छैन।’दुई जनाबीच घरबाहिर झगडा भएको सुनियो। झगडाको क्रममा पूर्वप्रेमीले महिलालाई जलाउनु अघि तरल पदार्थ खन्याएको स्थानीयले जनाएका छन्।