रास्वपाको केन्द्रीय समिति बैठकमा ढकालमाथि कारबाहीको विषयमा छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बिहान ८ बजेबाट पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठकमा पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालमाथि गरिने अनुशासनको कारबाहीको विषयमा मुख्यरूपमा छलफल हुने बताइएको छ ।
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै पार्टीले यसअघि नै उनलाई महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो । अबको बैठकमा उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने विषयमा छलफल हुनेछ ।
यसबाहेक, आगामी असोजमा हुने राष्ट्रिय भेला, छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायतका समसामयिक विषयमा पनि बैठकमा छलफल हुने पार्टीका एक नेताले जानकारी दिएका छन् ।