दक्षिण भारतको केरलामा भीषण वर्षा र पहिरो, कम्तीमा ४५ जनाको मृत्यु

दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । केरलाको वायनाड जिल्लाका विभिन्न स्थानमा मङ्गलवार सबेरै पहिरो गएको थियो। प्रभावित स्थानमा खोज तथा उद्धार अभियान चलिरहेको छ। तर ठूलो वर्षा तथा एउटा महत्त्वपूर्ण पुल भत्किएका कारण उद्धारकार्य प्रभावित भएको बताइएको छ।
क्षतिको विविरण आउन अझै केही समय लाग्ने बताइएको छ ।केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्जले स्थानीय अस्पतालहरूमा कम्तीमा ७० जना घाइतेलाई लगिएको बताएकी छन्। अहिलेसम्म १०० जनाजतिको उद्धार भएको छ। वायनाडमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने छिमेकी मलपुरम जिल्लामा चलियार नदीमा बगेका नौवटा शव फेला परेका थिए। वायनाड पश्चिम घाट पर्वतशृङ्खलामा पर्ने पहाडी जिल्ला हो। उक्त भेगमा मनसुनमा पहिरो गइरहन्छ।
पहिरोबाट वायनाडका विभिन्न स्थानहरू प्रभावित भएका छन्। सामाजिक सञ्जालमा देखा परेका भिडिओहरूमा कच्ची बाटो र जङ्गल छेउछाउका स्थानमा धमिलो भल बगेको र त्यसले घरहरू बगाएको देखिन्छ।
उद्धारकार्यमा राज्य तथा सङ्घीय सरकारका विपद् व्यवस्थापन गर्ने निकायहरू सहभागी छन्। प्रभावित स्थानमा सेनाको टोली पनि चाँडै पुग्ने बताइएको छ। उद्धारकार्यमा स्थानीय बासिन्दाहरूले पनि सघाइरहेका छन्। वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ। चौधमध्ये १० जिल्लामा शैक्षिक संस्थाहरू बन्द भएका छन्।
सन् २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।