ड्यालसमा समर क्याम्प सम्पन्न, चारसय नेपाली बालबालिका सहभागी
हरेक वर्ष झैं यस पटक पनि संचालन गरिएको समर क्याम्प शनिबार ड्यालसमा सम्पन्न भएको छ । उक्त समर क्याम्पमा यसपटक नेपाली समुदायका चार सय बालबालिकाहरु सहभागि भएका थिए । नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा समर क्याम्पको संचालन गरिएको हो । बालबालिकाहरुको उमेरअनुसार दुई चरणमा गरिएको शिविरमा नेपाली संस्कृतिका प्रकाण्ड विद्वान् डा चिन्तामणि योगीले नेपाली भाषा, संस्कृति, नैतिक शिक्षाका प्रशिक्षण दिएका थिए ।
हरेक वर्ष अमेरिकामा स्कुल बिदा भएको समय (समर याम)मा टेक्ससको नेपाली समुदायले आफ्नो भाषा, संस्कृति, संस्कारका बारेमा बालबालिकाहरुलाई ज्ञान प्रदान गर्न डा योगीलाई ल्याएर समर क्याम्प सञ्चालन गर्दै आएको छ । विगतको भन्दा ड्यालस फोर्टवर्थमा नेपाली समुदायको संख्या वृद्धि भएको र विद्यार्थीको संख्या निकै बढेकोले दुई चरणमा गरेर कक्षा सञ्चालन गरिएको थियो ।
शनिबार आयोजित समापन समारोहमा बालबालिकाहरुले सिकेको कला प्रदर्शन गरेका थिए । त्यस अवसरमा डा योगीले आफूले नेपालमा पनि थुप्रै संस्कृत गुरुकुलहरु सञ्चालन गरेको भए पनि अमेरिका आएर बालबालिकाहरुलाई नेपाली भाषा, संस्कार, संस्कृति पढाउन पाउँदा असाध्यै आनन्द लाग्ने गरेको अनुभव सुनाए । उनले यस्ता शिविरमा आएका बालबालिकाहरुले आफ्नो संस्कार कहिल्यै नभुल्ने सन्दर्भ उल्लेख गर्दै आफ्नो छोराछोरीलाई आफ्नोपन दिन शिविरमा पठाउनसमेत आग्रह गरे ।
त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले दुई सातासम्म कक्षा सञ्चालन गर्नु सजिलो विषय नभएको चर्चा गर्दै समुदायको सहयोग, सदभावले कठिन कार्य सम्पन्न भएको बताए ।