नेपाल जर्नी सामुदायिक पुस्तकालय निर्माण हुँदैं

टेक्सस । चितवनको भरतपुरमा नेपाल जर्नी सामुदायिक पुस्तकालय निर्माणको काम अघि बढेको छ । अमेरिकाको टेक्सासमा दर्ता भएको नेपाल जर्नीले चीतवनको भरतपुरमा अत्याधुनिक सुविधा सहीतको अंपाग मैत्री पुस्तकालय निर्माणको कार्य अघि बढाएको हो । हाल पुस्तकालय भवन निर्माणको कार्य भैरहेको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिईन् ।

जर्नीले पछिल्ला केही वर्षहरुमा गाला डिनर जस्ता कार्यक्रमहरु संचालन गरी संकलन गरेको आर्थिक कोषवाट पुस्तकालय निर्माणको कार्य आरम्भ गरेको थियो । त्यसपछि पुस्तकालय निर्माणको कार्यले गती लिदैं जाँदा सहयोगका लागि विभिन्न योजना बनाएर अघि बढेको र विश्वभरवाट सहयोग प्राप्त भैरहेको जर्नीले जनाएको छ । भरतपुरको स्थानीय निकाय भरतपुर महानगरपालिका तथा अन्य सरकारी एवं निजी संघ संस्थाहरुको सहयोग र स्थानीयहरुको पनि साथले निर्माणले गती पाएको जर्नीले जनाएको छ ।

आवश्यक रकम मध्य केही रकम अपुग रहेको भएपनि निर्माण अघि बढदैं जाँदा सहयोग प्राप्त हुँदैं जाने विश्वास जर्नीले गरेको छ । करीव ५ करोड लागतमा एकवर्ष भित्र निर्माण गरिने पुस्तकालयको लागि भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा साढे २ कठ्ठामा जग्गा स्थानिय समुदायले निशुल्क उपलव्ध भएको थियो । अपांगता भएकाहरु ह्वील चियर लिएर तथा अशक्तहरु समेत सहज रुपमा दोस्रो तल्लासम्म पुग्नसक्ने एलिभेटर संरचना सहितको अंपांग मैत्री पुस्तकालयमा बालबालिकाको लागि मनोरंजन स्थल, बृद्धबृद्धाका लागि भेटघाट चौतारी र जलपान कक्ष समेत हुनेछन् । पहिलो चरणमा ६ वटा कम्प्युटर जडान गरिनेछन् भने विद्युतीय लाईब्रेरीमा कुल १२ वटा कम्युटर राखिनेछ । प्रतिक्षा कक्ष, प्रशिक्षण कक्ष, पुस्तकालयमा कम्तिमा ७५ जना बसेर पढ्न सक्ने कक्ष बनाइनेछ । त्यस्तै पुस्तकालयभित्र एकसय जना अटाउने सभाकक्ष समेत रहनेछ । पुस्तकालय अमेरिकामा रहेका सामुदायिक पुस्तकालयहरुकै स्तरको हुने नेपाल जर्नीका ग्लोवल फाइनान्स संयोजक भानु खरेलले बताएका छन् ।

१५ नोभेम्बर २०२१ मा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले पुस्तकालयको शिलन्यास गर्दै महानगरको तर्फबाट २५ लाख सहयोगको घोषणा गरेकी थिइन् । पुस्तकालय २०८२ सालभित्र निर्माण भइसक्ने पनि खरेलले बताएका छन् । निर्माण सम्पन्न भएपछि पुस्तकालय भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ ।

TOP