अमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्याश एप नामक अनलाइन एप्लिकेसन प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले यस्तो कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । यस क्रममा मोरङको बिराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिषकुमार बुढाथोकीले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला, मिलन मिश्रलाई क्याश एपको सर्भरको एक्सेस दिएर कुरा खुल्न आएको बताइएको छ ।
त्यसपछि उनीहरूले छ ओटा ईसेवा वालेट अकाउन्ट, पाँच ओटा कनेक्ट आईपीएस अकाउन्ट, तिनै अकाउन्टमा लिङ्क भएका १९ ओटा विभिन्न बैंक खाता समेतमा अवैध तवरले क्याश एप मार्फत पाँच करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलिले काठमाडौं उपत्यका विभिन्न स्थानबाट पाँच ओटा आईफोन, तीन थान ल्यापटप सहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी-०८ एकै स्थान घर भई हाल काठमाडौं रवि भवन बस्दै आएका गौरभ भट्टराई (२२) र सोल्टीमोड बस्ने सुजन दाहाल (२३) रहेका छन् । त्यस्तै सोही गिरोहका ओखलढुङ्गा चम्पादेवी-०६ घर भई काठमाडौं सिनामंगल बस्ने सिद्धार्थ नेपाली (२२), सुनसरीको धरान-१५ घर भई काठमाडौं बौद्ध बस्ने आशुतोष कोईराला (२४) र मोरङ उर्लाबारी-०७ घर भई भक्तपुर गट्ठाघर बस्ने मिलन मिश्र (२४) लाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।