चौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान

स्पेनले युरोकपको उपाधि चौंथो पटक जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २९१ ले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो। स्पेनले १२ वर्षपछि उपाधि जितेको हो। इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा स्तब्ध बन्यो। अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको इंग्ल्यान्ड यो पटक स्पेनसँग स्तब्ध बन्यो।
जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको खेलमा निर्धारित समयको ४ मिनेट बाँकी रहँदा मिकेल ओयरजावलले गरेको गोल निर्णायक बन्यो। त्यसअघि पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिएको थियो। लामिन यमलको पासमा निको विलियम्सले ४७ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए।
तर खेलमा फर्कने क्रममा ७३ औं मिनेटमा सब्सटिच्युट कोले पाल्मरले जर्ज बेलिङ्घमको पासलाई २२ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल बराबरीमा ल्याउन इंग्ल्यान्ड सफल भएको थियो। तर बराबरीलाई अन्तिम केही मिनेट जोगाउन इंग्लिस टोली असफल भयो। ८६ औं मिनेटमा ओयरजावलले गोल गर्दै स्पेनको उपाधि निश्चित गरे।
स्पेनले यसअघि सन् १९६४ मा भएको युरो कपको दोस्रो संस्करणको उपाधि जितेको थियो। त्यसयता उसले सन् २००८ मा अस्ट्रिया र स्विट्जरल्याण्डले संयुक्त रुपमा आयोजना गरेको युरो कपमा जर्मनीलाई हराएर दोस्रो उपाधि जित्दा सन् २०१२ मा पोल्याण्ड र युक्रेनले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा इटालीलाई फाइनलमा हराएर लगातार दोस्रो र समग्रमा तेस्रो पटक उपाधि जित्यो। यो उसको चौंथो युरोकप उपाधि हो। इंग्ल्यान्ड भने पहिलो युरोकप जित्ने लक्ष्यमा रहेपनि सफल हुन सकेन्।
सन् १९६६ पछि मुख्य फुटबल प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको सपना पूरा हुन सकेन। सन् १९६६ मा विश्वकप उपाधि जितेपछि कुनै पनि उपाधि जित्न नसकेको इंग्ल्यान्डका लागि मुख्य उपाधिको पर्खाइ ५८ वर्ष पूरा भयो। युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि इंग्ल्यान्डको उपाधि यात्रा फेरि चकनाचुर भएको हो।
प्रतियोगितामा स्पेनका रोद्री प्लेयर अफ द टुर्नामेन्ट भए। किशोर खेलाडी लामिन यमाल प्रतियोगिताको युवा खेलाडी बने। तीन गोल गरेका स्पेनका ड्यानी ओल्मोले अरु ६ खेलाडीसँग उच्च गोलकर्ताको ट्रफी सेयर गरे। स्पेनकै यमलले प्रतियोगितामा सर्वाधिक चार असिस्ट गरे। यता इंग्ल्यान्डले सन् २०२१ मा घरेलु मैदानमा इटालीसँग फाइनलमा पराजित हुन परेको घाँउमा मलम लागउन सकेन। इंग्ल्यान्ड युरोको लगातार दुई फाइनलमा पराजित हुने पहिलो टोली समेत बन्यो।
इंग्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा भएको विश्वकपको फाइनलमा पश्चिम जर्मनीलाई ४९२ ले हराएपछि धेरै फ्यानहरूले कम्तिमा ६० वर्षसम्म दोस्रो उपाधिका लागि कुर्नु पर्ने कल्पना समेत गरेका थिएनन्। त्यसबेलादेखि पुरुष विश्वकप र युरोपियन च्याम्पियनसिपका २९ प्रतियोगिता भएका थिए। तर इंग्ल्यान्डले २०२१ सम्म कहिल्यै फाइनलमा स्थान बनाउन सकेन।