बाइडेनको राजनीतिक उचाइ झन् झन् खस्किँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनको राजनीतिक जगमा दरार झन् झन् बढेको छ । बिहीबार राष्ट्रपति बाइडेनले पत्रकार सम्मेलन बोलाएका छन् । सम्मेलनअघि बाइडेनमाथि राष्ट्रपतिको आगामी चुनावमा आफ्नो उम्मेदवारी त्याग्नुपर्ने दबाब झनै बढेको छ ।
कंग्रेसदेखि हलिउडसम्मका डेमोक्रेट समर्थकहरूले बाइडेनले पार्टी र देशकै लागि भए पनि आफ्नो उम्मेदवारी छाड्नुपर्ने दबाब दिइरहेका छन् । हठी राष्ट्रपतिले आफ्नो विकल्पबारे पुनः विचार गर्नुपर्ने पूर्व सभामुख नेन्सी पेलोसीले पनि भनेकी छिन् ।
राष्ट्रपतिको निर्वाचनमा जसरी पनि लडेरै छाड्छु भन्ने ८१ वर्षीय बाइडेनको अड्डीले प्रजातन्त्र नै धरापमा पर्ने हो कि भन्ने खतरा उत्पन्न भएको केही डेमोक्रेटहरूले चिन्ता व्यक्त गरेका छन् । ट्रम्पसँग आमने सामने बहस अघि नै बाइडेनप्रति कयौँले शङ्का व्यक्त गरिरहेका थिए । राष्ट्रपतिको पहिलो बहसमा बाइडेन ट्रम्पको तुलनामा निकै कमजोर देखिए । यसपछि पार्टी भित्र उनलाई उम्मेदवार उठाइनु हुन्न भन्ने बहस चर्किएको छ ।