विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि सेयर बजारमा हरियाली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का भएका छन् । पौडेल यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेता हुन् । विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि सेयर बजारमा हरियाली छाएको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेको छ । नेप्से १.३४ प्रतिशतले बढेर २२०४.६१ को विन्दुमा पुगेको हो ।
करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । अघिल्लो दिनको तुलनामा नेप्से २९.२१ अंक बढेको हो ।
यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । लगानीकर्ताले २२०० अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए ।
आज कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोड पुग्यो । १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन पनि जीवन बीमा र बैंकिङ समूह सबैभन्दा धेरै बढे ।
जीवन बीमा समूह ३.०६ प्रतिशत तथा बैंकिङ २.४२ प्रतिशत बढ्यो । अंकमा बैंकिङ २८, विकास बैंक ७, फाइनान्स ७, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ३७, जीवन बीमा ३१८, उत्पादन ४, निर्जीवन बीमा १११ र अन्य समूह २५ ले बढे । माइक्रोफाइनान्स २५ र व्यापार समूह ११ अंक घटे ।
बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जानाकी फाइनान्सको ८.७, प्रभु महालक्ष्मी लाइफको ७, मध्यभोटेकोशीको ५.५, हिमालयन बैंकको ५.५, माउन्टेन हाइड्रोको ५.४ प्रतिशत मूल्य बढ्यो । समाज लघुवित्तको मूल्य ४.५, साधना लघुवित्तको ४.५, आत्मनिर्भर लघुवित्तको मूल्य ३.६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा क–कसलाई मन्त्री बनाउने भन्ने बारे छलफल भइरहेको छ । कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउने भएकोले परीणाम दिनसक्ने व्यक्तित्वलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । एमालेले अर्थसहित विभिन्न ९ वटा महत्वपूर्ण मन्त्रालय पाउने पक्का भएको छ । अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेललाई नै पठाउनेगरि पार्टीभित्र छलफल थालिएको छ ।
पौडेल लगानीकर्ताहरुले रुचाइएका अर्थमन्त्रीभित्र पर्छन् । उनको कार्यकालमा सेयर बजारले राम्रो उचाइ लिएको लगानीकर्ताहरु बताउँछन् । फेरी उनै पौडेललाई अर्थमन्त्रीका रुपमा पाउने भएपछि लगानीकर्ताहरु हौसिएका छन् । गुमाएको लगानी फिर्ता गर्ने आशमा लगानीकर्ताहरु रहेका छन् ।