क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अमेरिकमा जारी ४८ औं सिजनको कोपा अमेरिकामा विश्व चर्चित लियोनल मेसीको टिम अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो । अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

दोस्रो सेमिफाइनलमा भोलि उरुग्वे र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेतासँग अर्जेन्टिनाले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।

योसँगै अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी विश्वकै दोस्रो गोल गर्ने खेलाडी बनेका छन्। सर्वाधिक गोल गर्ने सूचीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो हुन्। यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् ।

मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका हुन् । मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २१२ खेल खेल्दै १३० गोल गरेका छन् ।

TOP