न्युयोर्क आपपासमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

न्युयोर्क र आपपास सिटीमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान १० बजेर २३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर गएको युएस जियोलोजिकल सर्भे जनाएको छ ।
भूकम्पको धक्का महसुस न्युयोर्क, न्युजर्सी र कनेक्टिकटसम्म अनुभव गरिएको जनाइएको छ । भूकम्पबाट कुनै क्षति र चोटपटक नभएको न्युयोर्क प्रहरीले जनाएको छ । न्युयोर्क सिटीमा यस्तो भूकम्प दुर्लभ मानिने भएकाले स्थानीयबासिहरु त्रसित देखिएका न्यूयोर्कबाट प्रकाशित नेपाल अनलाईन खसोखासले जनाएको छ ।
न्युयोर्क सिटी क्षेत्रमा आज आएको भूकम्प १४० बर्षको इतिहासमा सबैभन्दा ठूलो भएको जनाइएको छ । कोलम्बिया युनिभर्सिटीको तथ्यांक अनुशार सन् १८८४ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन ।
त्योभन्दा अगाडि सन् १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको १ घण्टापछि गयो पराकम्प
मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पहिलो पराकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ । पराकम्प बिहान ११ बजेर २० मिनेटमा गएको र २ रेक्टर स्केल भएको जनाइएको छ ।
न्युयोर्क सिटीको आपतकालिन अलर्टः थप पराकम्पहरु जानसक्ने चेतावनी
४ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । तर न्युयोर्कबासीहरुले आफ्ना नियमित गतिविधिहरु जारी राख्न सक्ने अलर्टमा उल्लेख गरिएको छ । युएस जियोलोजिकल सर्भेले पनि कम्तीमा एउटा पराकम्प आउनसक्ने अनुमान गरेको छ ।
