भारतीय स्टेट टीम बरोडासँग हार्यो नेपाल
भारतमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल भारतीय स्टेट टीम बरोडासँग पराजित भएको छ । शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो ।
टस जिती पहिले ब्याटिङको निणर्य लिएको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १९ रनमात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोरावाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले ४३ बलमा ५६ रन बनाए । विवेक यादबले टोलीको खातामा १७ रन थपेका थिए । ओपनर कुशल भुर्तेल पनि १६ रन बनाउँदै आउट भएका थिए । प्रतिस जिसी ६ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरी पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
ओपनर अनिल साह र गुलसन झा एक९एक रन बनाउँदै आउट भए । करण केसीले भने खाता पनि खोल्न सकेनन् । कुशल मल्ल पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । अन्तिम विकेटका रुपमा आकाश चन्द दुई रन बनाउँदै आउट भए । ललित राजवंशी एक रनमा अविजित रहे । त्यसअघि बरोडका लागि शास्वत रावतले ३१ र ध्रुव पटेलले २९ रन बनाएका थिए । अमित पासीले २६ रन बटुलेका थिए । बरोडाको खातामा मोहित मोंगियाले पनि २२ रन थपेका थिए । नेपाली बलर गुलसन झा र करण केसीले दुई-दुई विकेट लिए । आकाश चन्द, ललित राजवंशी र प्रतिस जिसी पनि एक९एक विकेट हात पारेका थिए ।
नेपाली टोली यसअघि नै लिग चरणमा लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेको थियो । नेपाली टोलीले लिग चरणको आफ्नो पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई आठ रनले हराएको थियो । नेपाली टोलीले अब आइतबार हुने शसंखलाको फाइनल खेलमा गुजरातको सामना गर्नेछ । नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृंखला खेलेको हो ।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो ।